६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

460 Shares

काठमाडौं : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक ६ घण्टापछि सञ्चालनमा आएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलमा राति पौने २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान ७ बजेदेखि दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। 

पहिरोमा परेर  ना ६ ख ७१० नम्बरको ट्रक पल्टिएको थियो । ट्रकका चालक सामान्य घाइते भएका प्रहरीले जनाएको छ। वर्षा लागेसँगै यो सडक निरन्तरजसो पहिरो झरेर बन्द हुने गरेको हो । हिजो झण्डै १८ घण्टा अवरुद्ध भएको सडक साँझ मात्रै सञ्चालन भएको थियो। 

यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यकबाहेक यो सडकखण्ड प्रयोग नगर्न आग्रह गरेको छ। 

सम्बन्धित समाचार