
नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मन्चमा नै आफु भारतको समर्थनबाट नेपालमा प्रधानमन्त्री बनेको कुरा लाजै नमानी खुलासा गरेका छन् ।
सोमबार एक कार्यक्रममा सरदार प्रीतम सिंहको प्रशंसा गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन उनी धरै पटक दिल्ली गएको खुलासा गरे ।
त्यसो त नेपालमा प्रधानमन्त्री र मन्त्री बन्न भारतीय आशिर्वाद चाहिने कुरा समयसमयमा चर्किरहन्छ नै । बिगतमा नेपाल सरकारको नेतृत्वमा पुगेपछि भारतप्रति देखाउने लम्पसारबादी चरित्रका कारण यस्ता टिकाटिप्पणीहरु हुँदै आएको थियो ।
राष्ट्र र राष्ट्रियताका पक्षमा भारत सरकारले नेपाललाई भूमी अतिक्रमणदेखि घोषित अघोषित नाकाबन्दी लगाउँदा नेपाल सरकारको नेतृत्वमा रहेकाहरु सधैँ मौन रहनुले भारतीय आशिर्वाद छचल्किने गरेकै छ । आम जनता र बुद्धिजीवीले जति नै बोलेपनि नेताहरुले भने अहिलेसम्म दिल्लीसँगको सत्ता सेटिङलाई अस्वीकार गर्दै आउने गरेका थिए ।
तर, सोमबार प्रचण्डले भारतकै इच्छामा आफु प्रधानमन्त्री बनेको बताएपछि भने नेपाल सरकारको सत्ताको चावी भारतीय नेताको हातमा रहेका प्रष्ट बुझ्न सकिन्छ ।