काठमाण्डौँ - बसन्त बहादुर कुँवरले ८० हजार फौज रहेको नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको ६ महिना पूरा भएको छ । सरकारले कुँवरलाई १० चैत २०७९ मा नियुक्त गरेको हो । प्रहरीको नेतृत्वमा कुँवर आएपछि के भयो, के भएन ? भनेर लेखाजोखा हुन थालेको छ ।
त्यसैले प्रहरीभित्र एउटा ‘बसन्त समय’ उदय भएको दाबी गर्नेहरू पनि कमी छैनन् । उनले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेपछि आलोचना वा समर्थन जे देखिए पनि आन्तरिक परिवर्तनका लागि संगठनभित्र भने ‘बसन्त समय’का रूपमा भने चर्चा पाउन थालेको हो ।
प्रहरी महानिरीक्षक (आईजी) कुँवरलाई प्रहरी संगठनभित्र ‘रोल मोडल’का रूपमा चित्रण गर्न थालिएको छ । आईजी कुँवरलाई विगतदेखि नै चिन्नेहरुले बसन्त नामले होइन, आफ्नो इमान्दार कामको चर्चा र निडरपनाले सबैको नजरमा राम्रो छन् ।
संगठनमा शुद्धीकरण सुरु गरेका कुँवरलाई पछिल्लोे समय आमजनता र प्रहरीभित्रै केही सुधारकका रूपमा चर्चा गर्न थालिएको छ । केही दिनअघि मात्रै संगठनमा बसेर गलत धन्दामा लागेका एक प्रहरी अधिकृतलाई कारबाही गरेका थिए । कारबाहीमा परेपछि ती अधिकृतले राजीनामा दिएको घटना पनि प्रहरीभित्र चर्चाको विषय बनेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा होस् वा विभिन्न जिल्ला तथा प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा कुँवरले संगठित रूपमा हुने अपराध रोक्न चालेको कदमका कारण पनि अहिले उनी चर्चाको केन्द्रमा रहनुको कारण मानिने गरेको छ ।
मधेश प्रदेश प्रहरी प्रमुखको रुपमा रहँदा जालोका रूपमा खटिने गरेका घुमुवा र अटेरी प्रहरीहरुलाई आ-आफ्नो ठाउँ अर्थात (दरबन्दी) मा जान कुँवरले महत्वपूर्ण भूमिका खेलेका थिए । करिब २ महिनामा उनले त्यहाँ गरेका कामहरुको निकै प्रशंसायोग्य थियो ।
त्यस्तै आईजी कुँवरले बेला-बेला आफूअघि ३०–३२ वर्ष प्रहरी सेवा गरेर निवृत्त भएका संगठन प्रमुखदेखि अधिकृतसम्मलाई बोलाएर भेटघाट गरिरहनु पनि सुखद पक्ष हो । जहाँ आईजी कुँवरले आफ्नो कार्यकाल मूल्यांकनका गरिदिन आग्रह गर्ने गरेको बताइन्छ ।
उक्त भेटका क्रममा कुँवर नेतृत्वको प्रहरीको काम कारवाहीबारे उनीहरूले मुक्तकण्ठले प्रशंसासमेत गरेको पाइएको छ । उनीहरुले सामाजिक सञ्जालमा समेत कुँवर नेतृत्वको प्रहरीले गरेको काम निकै प्रशंसायोग्य र अहिलेसम्म कसैले गर्न नसकेको बताउने गरेका छन् ।
नेपाल पूर्वप्रहरी संगठनका संरक्षकदेखि पदाधिकारीहरूले आईजी कुँवरको ६ महिने कार्यकाल ‘ऐतिहासिक र अतुलनीय’ भएको निश्कर्ष अहिले नेपाल प्रहरीको संगठन भित्र चर्चामा रहेको छ ।
त्यसैगरी कुँवर प्रहरी संगठनमा कार्यरत तल्ला दर्जाका प्रहरी कर्मचारीहरुको समस्या समाधानको लागि निरन्तर लागि परिरहेका छन् । पेन्सनअवधी १६ बनाउन आफू लागिपरिरहेको कुँवर स्वयम् बताउँछन् ।
यस्तै आईजी कुँवरकै कार्यकालमा नक्कली भुटानशी शरणार्थी प्रकरण, सरकारी जग्गा ललिता निवासकाण्ड र तस्करीको सुनकाण्डमा समेत प्रहरी अनुसन्धानले सफलता हात पारेको छ । जसको कारण जनताको सोचमा प्रहरीप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ ।
नेपाल प्रहरी सबैभन्दा धेरै युनिट भएको जनतासँग प्रत्यक्ष दैनिक जोडिने सरकारी कार्यालय हो । जनताको सुखदुःखको साथी, आपतविपत होस् वा खुसियाली, बर्दीका प्रहरीको अनुपस्थितिमा राज्यविहीनताको अनुभूति हुन्छ ।
प्रहरीसँगको जनसहभागिताले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । प्रहरीको अठोट नै अपराध नियन्त्रण गर्नु हो । संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यका रूपमा पूरा गर्नु र राज्यले दिएको अधिकार नै प्रहरीको शक्ति हो ।
नीतिगत स्पष्टता
कुँवर आईजी भएर आएपछि संगठनको नीतिगत अस्पष्टता केही हदसम्म स्पष्ट हुँदै गएको बताइन्छ । मुलुकको बदलिँदो संरचनाअन्तर्गत आफूलाई समाहित गर्ने क्रममा प्रहरीसँग सम्बन्धित नीतिगत सवालमा एकरूपता ल्याउन पनि प्रहरी केही हदसम्म सफल भएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले गर्ने सरुवा/बढुवाको समेत स्पष्ट मापदण्ड बनाइएको छ । जसले गर्दा आईजी कुँवर संगठनमा सिस्टम बसाल्न लागिपरेको बुझिन्छ । अहिलेको मापदण्डलाई निरन्तरता दिनसके प्रहरीको सरुवा/बढुवामा झन्झट नहुने सचिवालयमा कार्यरत एक प्रहरी अधिकृत बताउँछन् ।
स्वभावले आईजी कुँवर स्पष्ट वक्ता मानिन्छन् । संगठन, देश र जनताको हितका विषयमा जसका सामु पनि आफ्ना धारणा प्रष्ट राख्छन् । हुँदै नहुने कुरामा कसैको कुरा नसुन्ने गरेको आरोप लाग्ने गरेको छ । आफ्नो पद वहालीसँगै रोडम्याप सार्वजनिक मात्र होइन सोही रोडम्यापलाई निरन्तर ‘फलो’ गरेर अघि बढेका कारण आन्तरिक रुपमा सुदृढ हुँदै गएको बताइन्छ ।