१४ बर्षीया बालिकासँग फेसबुकमा ‘च्याट’ : करणी मनसायले पहिलो भेटमै होटल पु¥याएपछि यसरी खोज्दैछ प्रहरी

1k Shares

 

 पोखरा । हिजो (शनिबार) दिउँसो ३ बजेतिर पोखरा-१५ मा एक बालिका साथीहरुसँग खेल्दै थिइन् । १४ वर्षीया उनी शनिबार बास्केटबल खेल्न पुगेकी थिइन् । केहि छिनपछि एक युवक आइपुगे । हरियोखर्कमा ति बालिकासँग एकछिन कुरा गरे । ट्याक्सी रोके, दुवै जना लेकसाइड पुगे ।

युवकले ड्यामसाइड स्थित होटलको रुममा बस्ने प्रस्ताव राखे । बालिकाले ‘होटल बुक गर्दै गर्नू म घरमा फाेन गर्छु’ भनिन् । युवक होटलको खोजीमा लागे । बालिकाले नजिकको मेडिकल पसलमा पुगी घटनाबारे बताइन् । त्यहीँबाट दाइलाई फोन गरिन् । दाइ लिन लेकसाइड पुगे र पोखरा १५ स्थित घर फर्किए ।

बालिका त जोगिइन् । घटना यतिमा मात्र रोकिँदैन । बालिका र दाइ घरमा फर्की परिवारसामू सबै कुरा सुनाए । त्यसपछि बुवा र ठूलीआमासहित युवकलाई समात्ने योजना बनाएर घरबाट निस्के ।

बालिकाले म्यासेन्जरमा पुनः च्याट गरेर घर आइपुगेको भन्दै बोलाइन् । उनले आफू बाहिर निस्केको र लिन आउन भनिन् । युवक होटल बुक गरेर तयारीका साथ बालिकालाई लिन स्कुटरमा रामबजार आए । बालिकासँग परिवार देखेपछि स्कुटर हुँइकाइहाले, पक्रनै सकेनन् ।

त्यसपछि मात्र घटनाबारे प्रहरीलाई जानकारी गराइयो । यतिबेला साँझको साढे ६ बजिसकेको थियो । प्रहरीले भने घटनाबारे खुलेर बताइसकेको छैन । किनकि, युवकको खोजीमा प्रहरी लागिरहेको छ । यतिबेला लेकसाइडदेखि रामबजारसम्मका सीसीटीभी फुटेज हेरिरहेको छ ।

परिवार पनि खुलेर आइसकेको छैन । बालिकाले सुरुमा आफूले ती युवकलाई नचिन्ने बताएकी थिइन् । दिउँसो २ बजेदेखि मात्र फेसबुकमा जोडिएको र कुरा भएको बताएकी थिइन् ।

श्रोतले भन्यो – ‘नानीले चिन्दिनँ भनेकी थिइन् । २ बजेमात्र म्यासेन्जरमा कुरा भएको र यसका लागि साथी हुन पनि नपर्ने भनेकी थिइन् । स्न्यापच्याटमा लोकेशन अन गरेपछि लाइभ लोकेशन देखाउने भएकाले आफूसम्म आएको र ट्याक्सीमा रोकेर बलजफ्ती चढाएको, मुख थुनेर लगेको भनेकी थिइन् ।’

बालिकाले परिवारका डरले केही कुराहरु लुकाएको हुनसक्ने प्रहरी श्रोतले बतायो । प्रहरी श्रोत भन्छः ‘हामीले अनुसन्धान सुरु गरिसक्यौँ । एक त सूचना नै ढिलो आयो । अर्को त बालिकाको बयान नै फरक फरक छ । सायद परिवारको डरले हुनसक्छ । तर, बालिका १३/१४ वर्षकी मात्र भएकाले नाबालिग हुन् । यति साना उमेरका बालबालिकाले जानेर गल्ती गर्न नसक्ने भएकाले संयमताका साथ परिवार प्रस्तुत हुनुपर्छ । अरु बालबालिका र अभिभावकले पनि घटनाबाट पाठ सिक्नुपर्छ ।’

के हो वास्तविकता ?

२५ वर्ष उमेर जति देखिने मंगोलियन अनुहारका युवक र गुरुङ थरकी ति बालिकाबीच केही समयअघिदेखि फेसबुकमा च्याट हुने गरेको थियो । ती बालिकाको परिवार पोखरा १५ मा भाडामा बस्दै आएको छ । बालिका प्रविधिमा पोख्त छिन् । यसअघि पनि यस्तै घटनामा परेर जोगिएको पनि खुलेको छ ।

युवकको फेसबुकमा नाम आश्विन गुरुङ (Ashwin Grg) छ । जुन फेसबुकमा कुनै पनि तस्वीर छैनन् । र, साथीबाहेकले हेर्न नमिल्ने गरी प्रोफाइल लक्ड छ । बालिकासँगका सबै च्याट अनसेण्ड गरी अनफ्रेण्ड गरेका छन् ।

उनीहरुको भेट भने पहिलोपटक हो । पुनः लिनलाई रामबजार आउँदा परिवार देखेर भागेपछि युवकले च्याट गरेर भनेका छन्, ‘तिमीले यो के गरेको ? …’ त्यसअघिका च्याट हिस्ट्री डिलिट भएका कारण पहिल्यैदेखि कुरा हुने गरेको अनुमान गरिएको हो ।

भिडियो कलका क्रममा बालिकाले युवकको तस्वीर लिएकी छन् र प्रहरीसम्म त्यो पुगेको छ । स्कुटरको नम्बर पनि सीसीक्यामेरामार्फत् थाहा हुने भएकाले तिहारको बिदा सकिनासाथ यातायात व्यवस्था कार्यालयबाट भेरिफाई गरी युवकसम्म पुगिनेमा प्रहरी विश्वस्त छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीसँग घटनाबारे पुष्टि गर्न खोज्दा डीएसपी श्रवणकुमार बिकले यसबारे जानकारी आइनसकेकाले वडा प्रहरी कार्यालय रामबजारसँग नै बुझ्न आग्रह गरे । वडाका प्रहरी प्रमुख इन्स्पेक्टर विनोद श्रेष्ठले अनुसन्धान जारी रहेको र बालिकामाथिको जघन्य अपराध बालिकाकै चतुर्‍याईँले टरेको बताए । अहिले रुटका सबै सीसीक्यामेरामा त्यो समयका गतिविधि हेरिरहेको उनले जनाए ।

पोखरा वडा नं. १५ का अध्यक्ष तोरण बानियाँ, सदस्य आशिष भण्डारी लगायतले यस घटनालाई चासोका साथ लिएका छन् । आफ्नै वडाबाट ट्याक्सीमा बालिका उठाएर लगेपछि संलग्नलाई पक्रनका लागि उनीहरु पनि रुटका सीसीटीभी क्यामरा पत्ता लगाउने, हेर्ने कार्यमा सक्रियताका साथ लागेका छन् ।

अहिलेका बालबालिका प्रविधिमा पोख्त छन् । सामाजिक सञ्जाल बढी प्रयोग गर्छन् । यसको सदुपयोग नहुँदा यस्ता प्रकारका घटना भइरहेकाले नचिनेकासँग नबोल्न, निकट नहुन प्रहरीले अनुरोध पनि गरेको छ । विशेष गरी उमेर नपुगेका बालिकाहरुमाथि अभिभावकको प्रत्यक्ष निगरानी गर्नुपर्नेमा जोड दिइएको छ । -गण्डक न्युज

सम्बन्धित समाचार