सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको सङ्ख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरूमा आएका छन् ।
भरतपुरका तटीय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरू छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेकका देशबाट आउने पर्यटकको सङ्ख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यटकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठुला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ।
बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण (जगतपुर लज), टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरू हुन् ।
हात्ती सफारी, जङ्गल सफारी, बोटिङ, जङ्गल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतिहरू तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरू यहाँ आउने पर्यटकले गर्न सक्छन् । कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए ।
बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाउँमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए । –सुरेन कुँवर