कुकुरलाई कुटपिट गरि जिउँदै खाल्डोमा पुरेर हत्या गर्ने ३ जना पक्राउ

281 Shares

 

इलाम : क्रूर यातना दिएर कुकुरलाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम जिल्ला देउमाई नगरपालिका-९ जितपुर बस्ने २१ वर्षीय दीक्षान्त मोरोहाङ लिम्बू, सोही स्थान बस्ने १७ वर्षीय संगम लिम्बू र सोही स्थान बस्ने १७ वर्षीय अशोक लिम्बू छन् ।

उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको छ प्रहरीले जानकारी दिएको छ।

जेठ ३२ गते सामाजिक संजाल 'भूत प्रेत' नामक पेजमा एउटा कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक निर्मम तरिकाले घाइते बनाई जिउँदै खाल्डोमा पुरेर हत्या गरेको भिडियो भाइरल भइरहेको थियो।

प्रहरीले उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलाम र मातहत प्रहरीबाट उक्त भिडियो कसले अपलोड गरेको र कुकुरको हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान तथा खोजी कार्यलाई तीव्र बनाएको थियो।

यसरी कुकुरलाई हत्या गर्नेविरुद्ध पशु कल्याण संघ नेपालले 'पशुपंक्षी सम्बन्धी कसुर' अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्त समेत दिएको छ।

सम्बन्धित समाचार