
काठमाण्डौँ । भारतसँगको खुल्ला सिमानाका कारण सुरक्षाका दृष्टिकोणले निकै महत्वपूर्ण, चुनौतीपूर्ण र संवेदनशील मानिन्छ, लुम्बिनी प्रदेश ।
तथ्याङ्क हेर्ने हो भने तस्करी, मानव बेचबिखन तथा ओसारपोसार, मादक पदार्थ तथा लागुपदार्थ ओसारपसार सँगै जोडिएका विविध अपराधीक गतिविधिहरू तुलनात्मक हिसावले अन्य प्रदेशमा भन्दा बढि नै हुने गर्छ ।
त्यसैले अधिकांस प्रदेश प्रहरीको जिम्मेवारी सम्हाल्न तयार हुने प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरुको मुख्य रोजाईमा पर्छ, लुम्बिनी प्रदेश प्रहरी कार्यालय ।
कोही यस्ता अफिसरहरु पनि छन्, जो यिनै तस्करी र अपराधीक गतिबिधी गर्नेहरुसँग मिलेर व्यक्तिगत फाईदा लिन पाउने लोभले यस प्रदेश प्रहरीको नेतृत्वमा पुग्न चाहान्छन् । तर, संगठन भित्र ईमान्दार, काविल, कर्तव्यनिष्ठ र क्षमतावान् अफिसरका रुपमा चिनिनेहरु भने यहाँ गएर आफ्नो नेतृत्व क्षमतालाई प्रदर्शन गर्दै आफुलाई संगठनकै सम्भावित भावि नेतृत्वका रुपमा उभ्याउन चाहान्छन् ।
अहिलेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दान बहादुर कार्की पनि आफुलाई कुशल नेतृत्वका रुपमा स्थापित गराउँदै परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन थालेका छन् । जसको चौतर्फी प्रशंसा हुन थालिसकेको छ । त्यसो त उनले प्रदेश प्रहरीको नेतृत्व लिएको महिना दिन पनि वितेको छैन ।
तर, गत ३० मंसिरमा पदभार ग्रहण गरेका कार्कीको रणनीति, निर्देशन र प्रहरी परिचालनको तरिका निकै प्रभावकारी भएको मातहतका प्रहरी कर्मचारीहरु बताउँछन् । जसको चौतर्फी प्रशंसा हुन थालिसकेको छ । जिप्रका कपिलबस्तु, बुटवल, सप्तरी, कास्की साथै काठमाण्डौँ परिसर जस्ता निकै महत्वपूर्ण प्रहरी युनिटको नेतृत्व सफलताका साथ निर्वाह गरिसकेको अनुभव उनीसँग छ । यि युनिटहरुमा रहँदा उनको नेतृत्वमा भएका अपराध नियन्त्रणका कामकै कारण कार्की संगठन भित्र काविल, कर्तव्यनिष्ठ सफल अफिसरका रुपमा चर्चित छन् भने उनको कामको अहिलेसम्म पनि आम नागरिकहले प्रशंसा गर्ने गरेको पाईन्छ । यद्यपी, डीआईजी भएपछि भने उनको यो पहिलो कमाण्ड हो ।
पदभार ग्रहण गरेपछि मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै डीआइजी कार्कीले भनेका थिए, ‘प्रहरीले पहिले आफ्नो निजी आचरण र ब्यवहारमा सुधार ल्याउन जरुरी छ । त्यसपछि संगठनको गौरवमय इतिहासको रक्षा गर्दै अपराध रहित समाज निर्माणका निम्ती कुनै पनि लोभ वा प्रलोभनमा नपरी कर्तव्यनिष्ठ हुँदै राष्ट्र र समाजप्रति उत्तरदायी बनेर जिम्मेवारी निभाउनु होला । तपाईँहरुको उचित मुल्याङ्कन संगठनले गर्नेछ ।’
समाजमा प्रहरी संगठन प्रतिको जनविश्वास बढाउनका निम्ती प्रहरी कर्मचारीहरुले व्यक्तिगत आचरण र कार्यशैलीमा सुधार ल्याउनु अनिवार्य रहेको उनको बुझाई छ । तसर्थ, सुरुमा उनी प्रहरी कर्मचारीहरुको कार्यशैलीलाई पारदर्शी, जवाफदेही र निष्पक्ष बनाउन लागिपरेका छन् ।
जसका निम्ती कार्कीकै निर्देशनमा अहिले लुम्बिनी प्रदेश अन्तरर्गत मातहतका हरेक प्रहरी कार्यालयमा १० बुँदे नागरिक प्रतिज्ञा पत्र राखिएको छ ।
यो हेर्नुहोस्, प्रतिज्ञा पत्र :-
यस्तै उनले प्रत्येक प्रहरी इकाई (ईलाका सम्म) ले अनिबार्य नागरिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने र त्यसमा आएका नागरिकहरुको हरेक प्रश्नको जबाफ सार्बजनिक रुपमा दिनु पर्ने, गस्तीलाई देखावटी र कर्मकान्डी नबनाएर सूचना संकलन, समस्याको पहिचान र अपराध नियन्त्रणमुखी बनाउन ग्रामीण प्रहरी गस्ती गाइड तयार गरी लागू गराएका छन् ।
मातहतका युनिटहरुलाई आफ्ना हाकिम वा आदर गर्नु पर्ने अतिथि कार्यालयमा निरीक्षण गर्न आउँदा कामधन्दा छाडेर सबै कर्मचारी लामबद्द भएर फुलमाला र खादा बोकेर बस्ने प्रचलन अन्त्य गर्न डीआईजी कार्कीको निर्देशन छ । यसो गर्दा सेवाप्रवाहमा समस्या हुने, आर्थिक भार बढ्ने भन्दै सम्बन्धित युनिटका कमाण्डर मात्रै खटिन उनको आदेश छ ।
यस्तै, लामो समयदेखि विभिन्न माध्ययमबाट शक्ति प्रदर्शन गर्दै एउटै युनिटमा अड्डा जमाएर बसेका प्रहरी कर्मचारीहरुको पनि लिष्ट तयार पारी हेरफेर गर्न थालेका छन् । एउटै युनिटमा एकै व्यक्ति लामो समयसम्म कार्यरत रहँदा विभिन्न माध्ययमबाट प्रलोभनमा पर्न सक्ने हुँदा प्रहरी व्यवशायिकतामा प्रश्न उठ्न सक्ने हुँदा यसमा डिआईजी कार्की सचेत बनेका छन् ।
समुदाय प्रहरी साझेदारी जस्ता कार्यक्रमलाई ‘बिरालो बाँधेर श्राद्ध’ गरेजस्तो मात्रै नभई प्रभावकारी र परिणाममुखी बनाउने उनको लक्ष्य छ ।
‘संगठनले दिएको जिम्मेवारी अनुसार जनमुखी, संगठन, समाज र राष्ट्रप्रति वफदार र उत्तरदायी हुँदै सम्भावित दुर्घटना, अपराधिक घटना न्युनीकरण र भईरहेका अपराधीक गतिबिधी नियन्त्रण सँगै पीडितलाई न्याय दिलाउनका निम्ती आवश्यक अनुसन्धान निष्पक्ष, पारदर्शी, जवाफदेही हुँदै पेशागत व्यवसायिकता प्रदर्शनमा चुक्नु हुँदैन’, डिआईजी कार्की प्रतिबद्ध छन् ।
संगठन भित्र बिशेष गरि अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रणमा काविल अफिसरका रुपमा परिचित कार्कीले नेतृत्व लिएसँगै अधिकांस मातहतका प्रहरी कर्मचारीहरु उत्साहित छन् । किनकी, उनले कर्मचारीहरुको कामका आधारमा उचित मुल्याङ्कन गरी हाकिमको नजिककालाई नभई राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने प्रतिबद्धता जनाएका छन् । तर, नराम्रो काम गर्ने प्रहरीलाई कुनैपनि हालतमा कारवाही नगरि नछाड्ने अडानसँगै कतिपय गलत आचरण र प्रवृत्ति भहेका कर्मचारीहरु डराउन थालेका छन् ।
‘तस्कर बिरुद्ध’ आक्रामक बन्दै
भारतसँगको खुल्ला सिमानाकै कारण तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा यस प्रदेशलाई हेरिने गर्छ । जसका कारण राज्यलाई मासिक करोडौँ राजश्व घाटा लाग्ने गरेको पनि छ । विगतका कतिपय दृष्टान्त हेर्दा तस्करी गर्नेहरु सँग प्रदेश प्रहरी प्रमुखको मिलेमत्तो हुनु नौलो कुरा हैन । किनकी, तस्करहरुका लागि प्रहरी सँगको सेटिङ विना तस्करी गर्न ‘फलामको चिउरा’ चपाउनु सरह हुन्छ ।
प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा पुग्नु अघि नै यस कुरालाई राम्रोसँग बुझेका कार्कीले भने विगतमा संगठनकै छवि धमिल्याउने गरि हुने गरेको यस्तो दृष्टान्त बिर्साउने गरि काम थालेको बताईन्छ । तस्करी र अपराध नियन्त्रणमा शुल्य सहनशीलता अपनाउँदै प्रहरीको व्यवसायिक धर्म पालना गर्न गराउन उनी लागिपरेका छन् ।
खुल्ला सिमानाकाको फाईदा उठाउँदै हुने विभिन्न सामानको तस्करी, मानव बेचविखन तथा ओसारपोसार, लागुपदार्थ ओसारपोसारलाई न्युनीकरण पार्न उनले विशेष रणनीति लिएर काम थालेको मातहतका प्रहरी बताउँछन् ।
‘सर आउनु भएको दुई हप्ता भयो । अहिले तस्करहरु डराउन थालिसकेका छन् । किनकी, तस्करहरुले नै विभिन्न महत्वपूर्ण चेकपोष्टहरुमा लामो समयदेखि सेटिङमा राखेका स्टाफहरुको धमाधम सरुवा हुन थालेको छ । अरु कर्मचारीहरुले पनि पेशागत मर्यादा भन्दा बाहिर रहेर गैरकानुनी काम गरेको सूचना मात्रै पाएमा विभागीय र अन्य कानुन अनुसार पनि कारवाही गरि छाड्ने आदेश छ । कर्मचारीको काम र गतीबिधी छड्के चेकजाँच गर्न डीआईजी सरले टिम खटाउनु भएको छ’, एक प्रहरी कर्मचारीले भने ।
सिमा क्षेत्र हुँदै आउजाउ गर्ने व्यक्ति र सवारी साधन अहिले लुम्बिनी प्रहरीको उच्च निगरानीमा छ । सिमानाका हुँदै नेपाल-भारतमा करछली तथा तस्करी गरि सामान ओसारपोसारलाई न्युनीकरणगर्दै चेकजाँच कडाई मात्रै गरेका छैनन्, त्यसको निरिक्षणका निम्ती युनिट तथा मातहतका कमाण्डरलाई पनि आकस्मिक अनुगमन गर्न डीआईजी कार्कीको निर्देशन छ । उनको आक्रामक कार्यशैलीबाट तस्करहरु डराउन थालेका छन् । डर कै कारण तस्करी स्वतः कम हुँदै गएको जानकारहरु बताउँछन् ।
सिमामा कडाई गरिएसँगै लागुपदार्थहरुको ओसारपोसार पनि स्वतः कम हुन्छ । पछिल्लो समय समाजमा बढ्दो अपराधीक गतिबिधीको पछाडी लागुपदार्थ प्रमुख कारण बन्ने गरेको तथ्याङ्क बताउँछ । यसलाई निरुत्साहित पार्ने वित्तिकै समाजमा हुने सम्भावित अपराधको दर पनि काम हुने विश्वास गरिएको छ ।