
काठमाण्डौँ । गुठी संस्थानले देशभरका अतिक्रमित गुठी सम्पतीको तथ्याङ्क संकलन र फिर्ता ल्याउन रणनीतिक योजना अघि बढाएको छ ।
गुठी प्रशासक शैलेश राज कुँवर नेतृत्वको टिमले संस्थानको नाममा रहेका देशभरका अतिक्रमित सम्पतीको तथ्याङ्क संकलन गरिरहेको संस्थानले जनाएको छ ।
‘अहिले देशभर रहेका गुठीहरुको नाममा रहेको कुल सम्पती, तीनको अबस्था र अतिक्रमित भएको भए के कति ? कस्ले ? कहिले देखि गरिरहेको छ ? भन्ने तथ्याङ्क संकलन भईरहेको छ । त्यसका आधारमा कानुन अनुसार आवश्यक कारवाही अघि बढाएर अतिक्रमित सम्पती सम्बन्धित गुठीकै अधिनमा ल्याइनेछ’, प्रशासक कुँवर भन्छन् ।
यस्तै, संस्थानको जग्गा जुन प्रयोजनका निम्ती भाडामा लिएको हो त्यो काम नगरिक ओगटेर मात्रै राख्ने तथा सम्झौता अनुसार समयमै भाडा नतिर्नेहरुको पनि लिष्ट तयार भइरहेको कार्यालयले जनाएको छ ।
प्रशासक कुँबर भन्छन्, ‘भाडामा गुठिको जग्गा लिन, काम नगर्ने अनि समयमै भाडा नतिर्नेहरुको पनि लिष्ट तयार हुँदैछ । त्यस्ताहरुलाई हामीले नियमित भाडा तिराउने, सम्झौता संशोधन गर्ने र सम्झौता रद्द गर्ने पनि तयारीमा छौँ ।’
गुठी संस्थानको स्थापना र राजगुठीहरूलाई सुव्यवस्थित रूपले सञ्चालन गराउन भएको थियो । देशभर रहेको गुठीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको गुठी संस्थान आफ्नो सम्पत्ती समेत संरक्षण गर्न असफल भएको भन्दै विगतमा थुप्रै टिकाटिप्पणी हुने गरेको छ ।
संरक्षण गर्ने जिम्मेवारी पाएका व्यक्ति र निकाय नै यसको बेचबिखन, दर्ता र हिनामिनामा सामेल हुँदा गुठी संस्थान स्थापनाको उदेश्य पूर्णतः विफल बनेको आरोप लाग्ने गरेको थियो ।
तर, वर्तमान गुठी प्रशासक कुँवर भने संस्थान प्रति लाग्ने गरेको यि यस्तै आरोपहरुलाई चिर्दै सुशासन, व्यवस्थापन, पारदर्शी र जवाफदेशीमा उत्कृष्ट कार्यालय बनाउने योजनाका साथ काम गरिरहेको जानकारहरु बताउँछन् ।
देशभरका ७० जिल्लामा दुई हजार २८२ राजगुठी छन् । त्यसमध्ये काठमाडौंमा ५५६ वटा राजगुठी छन् । रैतानी, अधिनस्थ र तैनाथी गरी देशभरि १ लाख १० हजार रोपनीभन्दा बढी जग्गा छ । जसमध्ये पाँच लाख ६१ हजार ९९० रोपनी पहाडमा र तराईमा ६६ हजार ३३० विगाहा छ । गुठीको रैतानी जग्गा पहाडमा ३ लाख १५ हजार ४७२ रोपनी र मधेशमा ६२ हजार २५६ विगाहा छ । त्यस्तै, अधिनस्थ जग्गा पहाडतर्फमा २ लाख ४३ हजार ६०७ रोपनी र मधेशतर्फ २१ सय ९६ विगाहा छ । तैनाथी जग्गा २९ सय ११ रोपनी पहाडमा र १८ सय ७८ विगाहा तराईमा छ ।
तर, संस्थानका अनुसार हालसम्म कति सम्पती अतिक्रमण भएको छ भन्ने एकिन तथ्याङ्क छैन । कतिपय सम्बन्धित शाखा कार्यालयहरूमा नै अतिक्रमित जग्गाको यकिन अभिलेख छैन । कतिपय शाखा कार्यालयहरूबाट प्रधान कार्यालयमा तथ्यांक पठाइएको भए पनि कर्मचारी अभावका कारण हालसम्म तथ्यांकलाई एकीकृत गर्न नसकेको कार्यालयले जनाएको छ ।
गुठी संस्थानमा १९६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर, अहिले ५८ जना मात्र स्थायी दरबन्दीका कर्मचारीहरु कार्यरत छन् । कर्मचारी विनियम समयमै पास नहुँदा दरबन्दी पदपुर्ती गर्न सकेको छैन । जसका कारण कर्मचारी अभावको समस्या संस्थानले दशकौँदेखी झेल्दै आएको छ । यद्यपी, काम कारवाहीलाई सहज बनाउनका निम्ती संस्थानले ३०\४० जना करार र दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरेको छ ।
कार्यालय प्रविधीमैत्री बनिनसक्दा अभिलेखीकरणमा समस्या हुँदै आएको थियो । तर, पछिल्लो समय प्रशासक कुँवरको नेतृत्वमा संस्थान प्रविधीमैत्री बन्दै गएको छ । संकलित तथ्याङ्कको अभिलेखीकरण अनलाईन प्रणाली मार्फत सिष्टोमेटिक तरिकाबाटै हुनेछ ।
कुँवरको नेतृत्वमा प्रविधिमैत्री बन्दैछ गुठी संस्थान, घरबाटै लिन सकिन्छ सेवा