
काठमाडौँ । कुनै नयाँ घडेरी किन्दा होस् वा नयाँ घर बनाउन शुरु गर्ने क्रममा घरको जग खन्दा नागको चर्चा हुने गर्छ । आखिर यसरी जमीन र नागको बीचमा के अन्तरसम्वन्ध छ त यस विषयमा चर्चा गरौ ।
हिन्दू धर्ममा नागलाई सर्पहरुका राजा भनिन्छ । पानी विना जीवहरु बाच्न सक्दैनन् । नागहरु रिसाए पानीको अभाव सिर्जना गरिदिन्छन् । त्यस्तो संकट नआवोस् भनेर पनि नागको पूजा गरिन्छ । नाग रिसाएर घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दु:ख दिने हुदा घरको शिलान्यास गर्दा नाग पूजा गर्ने चलन पनि रहेको छ ।
प्रत्येक मनुष्यको आफ्नै घर होस् र त्यो घरमा सुख र आनन्दमय तरिकाले जीवन कटोस्, भन्ने भित्री इच्छा रहेको हुन्छ । तर समयमा वास्तुशास्त्र नमिलाई घरको जग खनेमा ठिक विपरित हुन गई घरमा सुख-शान्तिको सट्टा अशान्ति र दु:ख भोग्नुपर्ने स्थिति सिर्जना हुन्छ ।
घर बनाउदा सवभन्दा पहिला भूमिपूजन गरिन्छ । डोब वा जग खनिन्छ । डोब वा जग खन्दा विशेषतः वास्तु पुरुषको अवस्था अर्थात् मर्म स्थानमा खन्नु हुँदैन । त्यस्तै राहुको अवस्था अनुसार मुख र पुच्छरमा डोब खन्नु हुँदैन । घर बनाउन थाल्दा पहिलो डोब राहुको मुख र पुच्छर जोगाएर खन्नु पर्दछ । घर बनाउदा राहुसंगसंगै नागको शिरको पनि मूख्य भूमिका हुने गर्दछ ।
जुन घरमा नागको बास हुन्छ त्यो घरमा लक्ष्मीको निवास हुन्छ भन्ने विश्वास गरिन्छ तर नागको पूजा भने गर्न जरुरी हुन्छ । नागको शिरमा बहुमूल्य मणि हुन्छ । मानिन्छ कि प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।