कोशीमा सरकार छाड्दै माओवादी

455 Shares

काठमाडौं : कोशी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

माओवादीले आज बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्ने भएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादीले अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने प्रदेशसभा सदस्य सम्झना तामाङ थाम्सुहाङ्गले  बताइन्।  

माओवादीभित्र सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याएपछि सरकार छाड्ने कि अगाडि नै भन्ने विषयमा बहस हुँदै आएको थियो। तर, त्यस अगाडि नै माओवादीले सरकार छाड्न लागेको हो। 

नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन्। प्रदेश सभामा एकमात्र सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ। जसपा बाहिरिएपछि माओवादीलाई पनि सरकार छाड्न दबाब बढेको छ। 

९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन कायम छ। यो भनेको प्रदेशसभाको प्रष्ट बहुमत हो।

विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन्। माओवादीले सरकार छाडे मुख्यमन्त्री कार्कीले बहुमत गुमाउनेछन्। एमाले र राप्रपाको सिट संख्याले मात्रै प्रदेशसभाको बहुमत नपुग्ने भएकाले उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। 

सम्बन्धित समाचार