आमा बनेर प्रचण्डलाई साथ दिएकी सीता...

948 Shares

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ। २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको असार २७ गते बिहान ८:३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको छ।

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगले थलिएकी उनको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पताल ल्याइएको थियो। उनको उपचारमा प्राध्यापक डाक्टर युवराज शर्मा आफैं खटिएका थिए। 

‘उहाँको हेरचाह गर्ने नर्सिङ स्टाफ हुनुहुन्छ। उहाँले अचानक फोन गर्नुभयो। मैले तुरुन्तातुरुन्तै नर्भिकको इमरजेन्सी टिमलाई खबर गरें। म बालुवाटार पुगें। त्यहाँ अक्सिजनको मात्र हेर्दै थिएँ। नर्भिकबाट इमरजेन्सीको टोली पनि पुग्यो। हामीले त्यहाँ अक्सिजन, इन्जेक्सन आदि लगाएर, दौडाएर अस्पताल ल्यायौं’, शर्माले भने, ‘यहाँ ल्याउँदा ८ बजेको थियो। उहाँ पहिलेदेखि नै नसासम्बन्धी दीर्घरोगी हुनुहुन्थ्यो। दिमागको नसा सुक्दै जाने, खुम्चने हुन्छ। सँगसँगै उहाँलाई डायबिटिज, हाइपरटेन्सन र उच्च रक्तचाप पनि थियो।’

प्रचण्डलाई सीताको त्यो साथ
सीता पौडेलको विवाह २०२६ सालमा पुष्पकमल दाहालसँग चितवनमा भयो। सामान्य लेखपढ गर्न मात्रै जानेकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध थिइन्। उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन्। 

पञ्चायती शासनबाट जनतामाथि भइरहेको दमनलाई नजिकबाट नियालिरहेकी सीताले नेपालमा कम्युनिष्ट शासन ल्याउनुपर्ने निष्कर्ष निकालिन् जब उनी २०३५ सालमा गाउँमा भएको महिला भेलामा बसिन्। उनले आफूलाई पनि कम्युनिष्ट सरकार ल्याउन आफ्ना पतिलाई सहयोग गर्नुपर्ने निष्कर्ष सोही वेलाबाट आएको केही वर्षअगाडि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेकी छन्।

२०४७ सालमा प्रचण्डले चारवटा पार्टीलाई मिलाएर नेकपा एकता केन्द्र घोषणा गरे। २०४८ मंसिर ४ गतेबाट चार समूहको एकता केन्द्रबाट प्रचण्ड महासचिव बने। २०५१ साल फागुन २–४ मा नेकपा एकताकेन्द्र नाम परिवर्तन गरी नेकपा माओवादी राखियो। 

२०५२ साल असारमा गोरखामा केन्द्रीय समितिको बैठक बसी सैद्धान्तिक प्रतिबद्धता र चार तयारी एवं फागुन १ गतेबाट जनयुद्धमा होमिने तयारी गर्‍यो। सोही अनुसार प्रचण्डले युद्धको तयारी गरे। प्रचण्डका हरेक गतिविधि नजिकबाट नियालिरहेकी उनले पनि युद्धमा जाने निर्णय लिइन् तर घरमा चार सन्तान ज्ञानु, रेनु, गंगा र छोरा प्रकाश थिए।

तीमध्ये ज्ञानुको विवाह भइसकेको थियो भने रेनु, गंगा र प्रकाश सानै थिए। प्रचण्डले सीतालाई सम्झाउँदै साना छोराछोरीको भविष्य अन्योलमा पर्ने भएकाले घरमै बस्न आग्रह गरेका थिए।तर उनले प्रचण्डलाई युद्धमा जान कन्भिन्स गराइन्। छोराछोरी लिएर उनी पनि युद्धमा होमिइन्। 

जनयुद्धका वेला प्रचण्ड र बाबुरामबीच खुबै घनिष्टता थियो। कहिले काही पार्टीका नेताहरूले कुरा लगाइदिएपछि प्रचण्ड र बाबुरामबीच खटपट हुन्थ्यो। त्यति वेला दुवैलाई मिलाउने जिम्मेवारी सीताको हुन्थ्यो। दुवै नेताहरूलाई खराब मान्छेबाट टाढै बस्न आग्रह गर्थिन।

​‘संघर्ष गर्ने पार्टीमा वेला वेलामा अन्तरसंघर्ष भइहाल्छ, मिलाउनुपर्छ भन्ने मेरो जोड हुन्थ्यो। मैले बाबुरामजी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरैपटक कुरा मिलाउँदै आएकी छु’‚ सीताले भनेकी थिइन्, ‘त्यतिवेला प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए। मैले दुबै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्नुस् भन्थें।’

सीतासँग विवाह भएपछि प्रचण्ड माओका किताब खुबै पढ्ने गर्थे। यसलाई सीताले नजिकबाट नियालिरहेकी थिइन्। 

‘बिहे गरेर काठमाडौं आईए पढ्न आएका वेला प्रचण्डजीले माओका किताब बिरालोले बच्चा सारेको जस्तो कहिले यता कहिले उता सार्नुहुन्थ्यो, मैले किन यस्तो गर्नुहुन्छ भनेर सोध्दा कम्युनिष्ट यस्तै हो भन्नुहुन्थ्यो। पछि मैले पनि बुझ्दै गएपछि उहाँ सही बाटोमा हुनुहुन्छ भन्ने लाग्यो। २०४३ सालदेखि नारायणगढ र २०४६ सालदेखि काठमाडौंमा पार्टी हेडक्वाटर भन्ने भयो। खाना पकाउने र खुवाउने काम मात्रै भयो। मैले उहाँलाई जसरी सहयोग गर्न सक्थें त्यसरी नै गरें’‚ सीताले एबीसी टेलिभिजनसँग भनेकी थिइन्।

सीतालाई आफूले पढ्न नसके पनि छोरीहरूले पढ्नुपर्छ भन्ने भाव थियो। उनले आफ्ना भाइहरूले पढे पनि आफूले पढ्न नपाएकोमा गुनासो थियो। 

‘त्यो वेला छोरीले पढ्ने भनेको एकादुई चामलको बियाँ जस्तै हुन्थ्यो होला। गाउँघरका महिलाले पढ्ने भनेको चलन थिएन। मेरो बुवाले छोरीलाई पढाउनुपर्छ भनेर कराउनुहुन्थ्यो। वातावरण र अनुकूलले पनि दिएन’‚ दाहालले भनेकी छन्।  

प्रचण्डको पढाइका लागि सीताले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। आर्थिक अवस्था कमजोर रहेका प्रचण्डको पढाइमा सीताले आमा र श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन्। यो कुरा स्वयं सीताको मुखबाट आएको हो। 

‘उहाँको पढाइका लागि धेरै भूमिका खेलेकी छु। आमा र श्रीमतीले खेल्ने भूमिका खेलेकी छु। पढ्ने वेला उहाँलाई माइतबाट ल्याएको पैसा पनि दिने गर्थे। सानातिना गहन बेचेर पढ्न सहयोग गरेको थिएँ। उहाँको पढाइमा मेरो आमाको पनि ठूलो हात छ’‚ उनले भनेकी छन्।   

सीता पहिलेबाटै महिलाको हक अधिकारको विषयमा पार्टीभित्र आवाज उठाउँथिन्। २०४० सालदेखि महिलाको अधिकारका लागि उनी लड्दै आइन्। महिला पुरुष दुई रथका पाङ्ग्रा भन्ने तर अधिकारका लागि भेदभाव गरिएकोमा उनको असन्तुष्टि थियो। उनले अन्तिम समयसम्म महिलाको हक अधिकारका लागि लडिरहने बताउने गर्थिन्। 

‘मलाई पार्टीको केही प्रवृत्ति मन पर्दैन थियो। यसरी नै जाने हो भने पार्टीले केही गर्न सक्दैन। महिलालाई पनि अगाडि बढाउनुपर्छ। पुरुष भने मजासँग फुक्लेको हलोजस्तो भएर हिँड्न पाउने महिलाले खेतीपाती गर्नुपर्ने, बच्चा हुर्काउनुपर्ने?’‚ उनले भनेकी छन्, ‘साराका काम महिलाले धान्नुपर्ने? कहिलेकाहीँ त सहयोग गर्नुपर्छ नि। यो कुरामा म सधैँ डिस्कस गर्थे। महिला पुरुष एउटै कोखबाट जन्मिएका हुन्। सामन्तवादी प्रवृत्ति देखाउनु भएन। महिलालाई व्यथा लाग्दा दुई थरी हुन्थ्यो र? आफ्नो अधिकारका लागि घरभित्र लड्नुपर्छ। पार्टी नभए बाहिर पनि लड्नुपर्छ।’ 

जनयुद्धताका पटकपटक दुश्मनको घेरामा परेका प्रचण्डबारे सीतालाई खुबै चिन्ता पर्थ्यो। हुन पनि हो एउटा पत्नीका लागि पतिभन्दा ठूलो के नै हुन्छ र? सीता भन्ने गर्थिन्– बमबारी हुँदा वा दुश्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तर्द्वन्द्व पनि सबै बुझिएको छ। उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन्। त्यसैले उहाँलाई केही हुनुहुन्न भन्ने खालको बढी चिन्ता थियो।

प्रचण्डलाई सीताले जोगाएका दुई घटना
जनयुद्धकालमा सीताले प्रचण्डलाई बालबाल बचाएका थुप्रै घटना छन् तर तीमध्येका दुईवटा घटना महत्त्वपूर्ण छन्। एकपटक भारतमा विद्रोही समूह अल कायदाको खुब खोजी भइरहेको थियो। सोही वेला प्रचण्ड र सीता पनि दिल्लीबाट गोरखपुर आउँदै थिए। रेलको एउटा सिटमा प्रचण्ड र सीता सुतेका थिए। त्यहाँ इण्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो। 

प्रचण्डले ठूलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याएका थिए। प्रचण्डले रेलमा ती सबै सामान सिरानीमा हालेर बसेका थिए। रेलमा सबै मान्छेको सामान चेक गरियो। सीता र प्रचण्ड दुवै निद्रामा थिए तर सीताले प्रहरी आएको थाहा पाइहालिन्। प्रहरीले झोला र खल्ती चेक गरिराखेको र अरूलाई उठाइरहेको देखेपछि प्रचण्डलाई सचेत गराइन्।

तालिबान जस्तो दाह्री जुँगा पालेका प्रचण्डलाई प्रहरीले शंका गर्न सक्थ्यो। त्यतिखेर दाह्रीजुँगा भएका मुसलमानहरूकै खोजी भइरहेको थियो। प्रचण्ड रेलमा तन्ना ओढेर सुतिरहेका थिए। खुट्टाले झकझकाएर सङ्केत गरिन्। 

त्यसपछि सीताले प्रचण्डलाई भनिन्, ‘तपाईं चुप लागेर सुत्नुहोस्।’ त्यो सङ्केत पाएपछि प्रचण्डले कुरा बुझे। सीता गृहिणी महिलाजस्तो यताउता गर्दै बसिन्। त्यसपछि सबैलाई चेक गर्दा पनि उनीहरूलाई गरेन। उक्त घटनामा उनीहरू बचेर नेपाल आएका थिए। 

२०६० सालमा पनि त्यस्तै खालको घटना घट्यो।  उक्त समय सुरेश आले मगर र मातृका यादव पक्राउ परे। उनीहरू पक्राउ पर्दा प्रचण्ड पनि सँगै थिए। यो घटना पनि दिल्लीकै हो। साँझ परेकाले प्रचण्डले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभाको छ, कुराकानी गर्नुछ’ भने। त्यसपछि सीताले भनिन्, ‘राति भइसक्यो अहिले नजानुहोस्।’ दुईतीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गरे। सीताले कराएको कराई गरेपछि फर्केर भित्र कोठामा पसे। 

भोलिपल्ट बिहान प्रचण्डले ‘म जान्छु’ भन्न थाले। सीतालाई मनमा शंका लाग्यो सुरेश आले मगर यताउता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ। त्यसैले सीताले प्रचण्डलाई सम्झाउने तरिकाले कुरा गरिन्। ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ’ उनले भनिन्। त्यसपछि प्रचण्डले स्टाफलाई फोन गरेर सुरेशकहाँ बुझ्न लगाए। उनीहरूलाई हिजै प्रहरीले पक्राउ गरिसकेको जवाफ पाएपछि प्रचण्ड पक्राउबाट बचेका थिए। 

चार सन्तान, कोखमा दुई मात्रै
प्रधानमन्त्री प्रचण्ड र स्वयं सीताका चारजना सन्तान थिए। उनीहरूका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु, माहिली रेनु, कान्छी गंगा र एउटा छोरो प्रकाश थिए। उनीहरूले विवाह गरेका दुई सन्तान गुमाउन पुगे। २०७० सालमा जेठी छोरी ज्ञानु क्यान्सर रोग लागेर बितिन्।

जेठी छोरी गुमाएको पीडाले विक्षिप्त बनेकी सीतालाई अर्को पीडा थपिन धेरै वर्ष कुर्नु परेन। २०७४ मंसिर ३ गते छोरो प्रकाश गुमाइन्। त्यसपछि सीता उठेर हिँड्न सकिनन्। छोरी र छोरा गुमाएको वियोगले उनी प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगले पीडित बनिन्। 

पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रिया साथै मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ। प्रचण्डले पत्नी सीताको उपचारका लागि देश विदेश सबै गरे तर केही पार लागेन। अन्त्यमा उनी परलोक भइन्।  

सम्बन्धित समाचार