चितवन । भरतपुर अस्पताल चितवनमा रहेको एकमात्र केन्द्रीय अस्पताल हो । यहाँ १३ जिल्लासम्मका बिरामीको रेफरल अस्पतालको रुपमा लिइन्छ ।
पछिल्लो समय अस्पतालले बिरामीको उपचारदेखि औषधि वितरणसम्म राम्रो व्यवस्थापन गरेको प्रचार गर्दै आएको छ । अझ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले त प्रभावकारी अस्पताल व्यवस्थापन कसरी गराउने भनेर सुझाव संकलन गर्न सार्वजनिक निबन्ध प्रतिस्पर्धा गराएर चर्चा समेत बटुले ।
तर, अझै पनि बिरामीको आकस्मिक उपचारमा लापरबाही हुने गरेको पाइएको छ । ज्वरोको कारण भरतपुर अस्पतालमा उपचार गर्न गएका चितवनका बिरामी दिनेश पन्तले भरतपुर अस्पतालमा उपचार गराउन जाँदा भोगेको दुःख भागेकाे उल्लेख गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यसरी पोष्ट गरेका छन्ः
मिति २०८०/०६/०७ गते एकै पटकमा दुई ओटा (१०००एमजी) को प्यारासिटामोल खाँदा पनि ज्वरो कन्ट्रोल नभएपछि म भरतपुर हस्पिटलको इमर्जेन्सीमा उपचार गर्न पुगेँ । पहिलो कुरा त त्याहाँ बेड नै खाली रहेनछ। ज्वरोको कारण म उभिन सक्ने अवस्थामा थिइनँ । एउटा बेड नजिकै टुलमा महिला बस्नु भएको रहेछ। उहाँसँग आग्रह गरेर टुलमा बसेँ ।
एकै छिनपछि गार्ड आएर ‘तँ टुलमा किन बसेको बाहिर जा’ भन्नु भयो । म बिरामी हुँ भनेर मलाई एउटा बेड मिलाउन आग्रह गरे । गार्डले मेरो ठेक्का हो, आफैं खोजेर बस्ने भन्दै गए । त्यो गार्डले त सबैलाई अपमानित शब्द बोल्दा रहेछन् । नजिकैका ४÷५ जना मानिसले बताए ।
एक छिन पछि ती गार्ड आएर यहाँ बस्ने होइन भने बाहिर जाने भनेर मलाई थर्काए ? वेड नै छैन म के गरुँ ? हस्पिटल त गार्डको पो रहेछ, विचरा हस्पिटल प्रशासन ।
बल्ल बल्ल बेड पाएँ, तर कोही आउँदैन । अगाडि काउन्टरमा गएर बोलाउँदा १ घण्टा पछि आइन् नर्स । मैले डाक्टर खै भनेर सोधेँ ? डाक्टर नै हुनुहुँदो रहेनछ ? एकजना भाइ आउनु भयो उहाँ त एमबीबीएस पढ्दै हुनु हुँदोरहेछ ।
उहाँँले औषधि, ल्याब टेष्ट, एक्सरे, गर्न लेख्नु भयो । औषधि लिन लाइनमा बस्न दुई घण्टा समय लाग्यो । औषधि आएपछि नर्सलाई बोलाइयो । उहाँले क्यानुलाई ३/४ ठाउँमा ट्राइ गरेपछि स्लाइन लगाइयो ।
इमर्जेन्सीमा त सबै सिकारुमात्र हुँदा रहेछन् ।
त्यहाँको इमर्जेन्सीको प्रमुख डा. मनाेज कँडेल हुँनुहुँदो रहेछ । यही हो गुड म्यानेजमेन्ट ? सिकारु नर्स, सिकारु अहेव, सिकारु डाक्टरले इमर्जेन्सी चलाउने । कति गैरजिम्मेबारी छ हाम्रो सरकारी हस्पिटलको व्यवस्थापन ?
यदि कुनै बिरामीलाई मार्नु छ भने सरकारी हस्पिटलको इमर्जेन्सीमा लैजानुहोस् । सरकारी हस्पिटलको लगानी दुरुपयोग भएको छ । ओपीडीमा डाक्टरहरु १–२ बजे खाजा खाने रे ? २–३ बजे बल्ल रिपोर्ट हेर्ने रे ? अनि बिरामी कहिले चेक गर्ने ? ३ बजेसम्म ओपीडीमा पालो आउँछ भनेर कुरियो, पालो आएन । ४ बजे इमर्जेन्सीमा जादाँ त त्यहाँ नाटक नै मन्चन हुँदो रहेछ ।
सर्पले टोकेको बिरामी त्यहाँ वास्ता गरिएन । पछि एकजना भाइ आएर होहल्ला गरेपछि मात्र बिरामीलाई सोधपुछ गरियो। संविधानमा लेखेको स्वास्थ्य अधिकार खै ? अन्तमा म के अनुरोध गर्दछु भने, इमर्जेन्सी बिरामी बचाउँछु भनेर भरतपुर हस्पिटलको इमर्जेन्सी नलैजानु होला । -दिनेश पन्त