इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ

514 Shares

काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो।

घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ घर भई हाल ललिपुरको लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२४ कि १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरी नगरपालिका-५ घर भई हाल नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरी छन्।

परिसरका अनुसार किशोरमाथि धारिलो हतियार प्रहार गरी भाग्न लागेको अवस्थामा सन्देश खड्की  र सोनिया श्रेष्ठलाई सोही राति काठमाडौं महानगरपालिका-२४ मखनबाट पक्राउ गरेको हो।

भूमी मल्ललाई क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट पक्राउ गरिएको परिसरले जानकारी दिएको छ। प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार (चक्कु) समेत बरामद गरेको छ।

परिसरका अनुसार काठमाडौं जिल्ला अदालतबाट  सन्देश खड्की र सोनिया श्रेष्ठ खड्कीविरूद्ध असोज १५ गतेदेखि लागु हुनेगरी ६ दिन र भूमी मल्ल र अरबिन ठकुरीविरूद्ध १६ गतेदेखि लागु हुनेगरी ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

सम्बन्धित समाचार