गोरखामा शिक्षकको पिटाइले विद्यार्थीको कानको जाली फुट्यो !

2.3k Shares

काठमाण्डौँ । गोरखामा शिक्षकको कुटाइबाट एक विद्यार्थीको श्रवण क्षमता गुमेको छ । सिरानचोक गाउँपालिका स्थित महेन्द्र लिला माध्यमिक विद्यालय हर्मीमा अध्ययनरत कक्षा ६ का ११ वर्षीय अब्जल मियाँ (परियार) को देब्रे कानको जाली फुटेको हो । 

बालककी आमा सर्मिला परियार भन्छिन्, ‘साथीहरुवीच झगडा भएको थियो, छुट्याउने क्रममा सरले पिटनुभयो, छल्दाछल्दै कानमा लाग्यो भन्छ बाबुले, बुधबार त्यस्तो घटना भएछ रातभरी कान दुख्यो भनेर सुतेन, बिहान उपचार गराउन अस्पताल लगेँ, तर उपचार भएन ।’

आँपपीपल अस्पतालले कानमा समस्या भएको र थप उपचार गर्नुपर्ने बताएपछि छोरालाई लिएर चितवन गएको सर्मिला बताउँछिन् । चितवनको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा कानको चेकजाँच गरेपछि अब्जलको कानको जाली फुटेको प्रमाणित भएको उनको भनाइ छ । 

‘‘हस्पिटलमा डाक्टरले कान कति सुन्छ ? भनेर जाँच्नु भयो, उसले देब्र कान सुनेन अब के गर्ने भन्ने थाहा छैन्, कान नै सुनेन भने उसको जिन्दगी नै बर्बाद हुनेभयो’, उनले भनिन् । 

विद्यार्थीवीच झगडा हुँदा सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारी र ध्रुव पोखेरलको पिटाइबाट कानको जाली फुटेको पीडितको भनाइ छ । ‘कक्षा ६ मा धुब्र सरले पढाइरहनु भएको थियो । सहायक प्रधानाध्यापक भएकाले यसो निरीक्षण गर्दै हिड्दा ६ कक्षामा दुई जना बाबुहरु झगडा गर्दै रहेछन् । एउटाको नाथ्री फुटेर रगत बगेको रहेछ’ उनले भने । 

शिक्षक पोखरेल आफूहरुले छुट्टयाउने काम मात्र गरेको दाबी गरे । ‘म विद्यार्थीलाई नोट लेखाउँदै थिएँ, एक्कासि दुई वटा वच्चा लडे, त्यसपछि छुट्याएको मात्र हो’ उनले भने, ‘पछि राम सर आएर घाइते भएकोलाई बाहिर लिएर जानुभयो, अरु मैले केही गरेको छैन ।’

विद्यालयमा घटना भएकाले आफूहरु जवाफदेही रहनुपर्ने प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए  । 

सम्बन्धित समाचार