प्रहरीको रोजाईमा ‘बेटर अप्सन’ : सेवा सुबिधा कम भएपछि जागिर छाड्दै विदेश पलायन !

13.5k Shares

 

अश्विन दानी, काठमाण्डौँ । आर्थिक बर्ष २०७५/०७६ देखि ०७९/८० सम्ममा नेपाल प्रहरीका करिब ७ हजार कर्मचारीले जागिर छाडेका छन् ।

पेशाप्रति बिभिन्न असन्तुष्टिका कारण पछिल्लो ५ आर्थिक बर्षमा जम्मा ६ हजार ९ सय ८३ जनाले राजिनामा दिएका हुन् । । जागिरबाट बीचमै राजिनामा दिनेहरुमा तल्लो तह (सहायक) देखि विशिष्ट तह (डीआईजी) सम्मका कर्मचारीहरु रहेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/०७६ ३ हजार ७३ जना, २०७६/०७७ मा २ हजार ७७ जनाले, २०७७/०७८ मा ७ सय ३ जनाले, २०७८/०७९ मा ४ सय ९८ जनाले र २०७९/०८० मा ६ सय ३२ जना प्रहरी कर्मचारीहरुले राजिनामा दिएका छन् ।

पछिल्लो पाँच बर्षको तथ्याङ्क हेर्दा जागिरबाट राजिनामा दिने मध्य प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी बरिष्ठ उपरीक्षक २ जना, प्रहरी उपरीक्षक ६ जना, प्रहरी नायब उपरीक्षक १८ जना, प्रहरी निरीक्षक ५४ जना रहेका छन् । यस्तै, प्रहरी बरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक ३ सय ७४ जना, प्रहरी सहायक निरीक्षक एक हजार ९९ जनाले जागिर छाडेका छन् । तथ्याङ्क अनुसार प्रहरी बरिष्ठ हबल्दार एक सय ८ जना, प्रहरी हबल्दार ३ हजार ९ सय ८६ जना, प्रहरी सहायक हबल्दार ९८ जना, प्रहरी जवान ९ सय ८०, प्रहरी कार्यालय सहयोगी २ सय ४५ जनाले राजिनामा दिएको देखिन्छ ।

प्रहरीको रोजाईमा  ‘बेटर अप्सन’ 

सरकारको तथ्याङ्क हेर्दा सरकारी सेवामा रहेका मध्य धेरै कर्मचारीले जागिर छाड्ने संगठन मध्य नेपाल प्रहरी पनि पर्दछ । लामो समयको संघर्ष, कठिन तालिम पश्चात कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरु भर्ती भएर सेवा अवधि पूरा नगरी राजिनामा दिनेहरुको संख्या निराशाजनक देखिन्छ । सेवा अवधि बाँकी रहँदै जागिर छाड्नेहरुको तथ्याङ्क हेर्दा माथिल्लो दर्जाको भन्दा तल्लो दर्जाका कर्मचारीहरु बढि रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत बताउँछन् ।

सरकारले दिने सेवासुबिधा अनुसार अहिले तल्लो दर्जामा रहने कर्मचारीहरुका लागि प्रहरीको जागिरले घरव्यबहार धान्न मुस्किल पर्दछ । त्यसै माथि माथिल्लो तहका प्रहरी अधिकृतबाट हुने व्यवहार, खटनपटन, ओभरटाइम ड्युटी पश्चात पाउने श्रम र समय अनुसारको सेवा सुबिधा सन्तोषजनक नभएको भन्दै तल्लो दर्जाका कर्मचारीहरुमा नैराश्यता देखिन्छ । यसरी जागिर छाड्नेहरुमा पेन्सन अवधि पुगेका भन्दा पेन्सन अवधि नपुगेका कर्मचारीहरु धेरै छन् ।

सेवा अवधि नसकिँदै जागिर छाड्नुको प्रमुख कारण ‘बेटर अप्सन’ को खोजि देखिएको प्रहरी प्रवक्ता कडायत बताउँछन् । ‘माथिल्लो दर्जाका कर्मचारीहरु पनि जागिर छाड्ने मध्य धेरै जसो यहाँ पेन्सन भइसक्यो, अब संगठन भित्र जागिरको लामो क्यारियर छैन् । तर, डिभि पर्याे या बैदेशीक रोजगारीको राम्रो अबसर आयो भने राजिनामा दिने गरेको देखिन्छ’, प्रवक्ता कडायत भन्छन्, ‘तल्लो तहकाले पनि यहाँ पाउने सेवा सुबिधा भन्दा बेटर अप्सन जस्तै वैदेशीक रोजगारीमा जाने, अन्य पेशा व्यवसाय गर्ने उदेश्यले जागिर छाड्ने गरेको देखिन्छ ।’

No description available.नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत

जागिर छाड्नेहरु मध्य सबैभन्दा बढि प्रहरी हबल्दार रहेका छन् । प्रहरीको तथ्याङ्क हेर्दा माथिल्लो भन्दा बढि तल्लो दर्जाका प्रहरी कर्मचारीहरुले बीचमै जागिर छाड्ने गरेको देखिन्छ । यसरी जागिर छाड्नेहरु मध्य धेरैजसो बैदेशीक रोजगारीमा जाने गरेको पाइन्छ । कतिपय कर्मचारीहरुले भने संगठन भित्र हुने सरुवा तथा बढुवामा असन्तुष्टि जनाउँदै जागिर छाडेको पनि देखिन्छ । जागिर छाडेका कतिपय कर्मचारीहरुले सरुवा बढुवा योग्यताको आधारमा भन्दा पहुँच, सत्ता, शक्ति र आर्थिक चलखेलका आधारमा भएको भन्दै संगठन प्रति सार्वजनिक रुपमा नै प्रश्न खडा गर्ने गरेका छन् । पछिल्लो केही आर्थिक बर्षमा जागिर छाड्नेहरुको संख्या बिगतमा भन्दा औसतमा कम भएको छ ।

‘पेन्सन अबधि पहिले १६ बर्षको देखि जब परिवर्तन भएर २० बर्ष लागु भयो त्यसलगत्तै राजिनामा दिनेहरुको संख्या एक चरण बढेको थियो । किनकी १६ बर्षमा नै पेन्सन पाकेकाहरु अब किन २० बर्ष कुर्नु भनेर धमाधम राजिनामा दिन थालेका थिए । यद्यपी पछिल्लो केही आर्थिक बर्ष यता राजिनामा दिनेहरुको संख्या औसतमा कम हुँदैछ ।’

जागिर छाड्नेहरुको संख्या कम गर्न के गर्दैछ संगठन ?

औसतमा हेर्दा प्रहरी संगठनमा जागिर छाड्नेहरुले मध्य १० देखि १५ बर्षसम्म सेवा गरेका ब्यक्तिहरुको संख्या बढि छ । प्रहरीमा यसरी दशकौँसम्म काम गरेर पुलिसिङमा ‘एक्सपोर्ट’ भएकाहरुले सेवा अबधि बाँकी छँदै जागिर छाड्नु राम्रो मानिदैन् । अझै भन्नुपर्दा प्रहरी संगठनमा सेवा गरेको प्रमाण पत्र बिदेश जान बलियो प्रमाण पत्र बन्नु उचित हैन् ।

यसरी बीचमै जागिर छाड्दा संगठनलाई मात्रै हैन्, एउटा सामान्य व्यक्तिलाई ट्रेनिङ दिँदै जागिरका लागि योग्य तथा अनुभवी बनाउँदासम्म सरकारले गरेको लगानी पनि खेर जान्छ । पेन्सन अबधि पुनः १६ बर्षको हुनु पर्ने भन्दै पछिल्लो समय प्रहरी संगठनका तल्लो दर्जाका कर्मचारीहरुले अत्याधिक माग गरिरहेका छन् ।

प्रहरी कर्मचारीले जागिर छाड्नुमा प्रमुख कारण पेन्सन अबधि लामो हुनु, भने जस्तो सेवा सुबिधा नपाउनु, संगठन भित्रका आन्तरिक किचलो, बेटर अप्सन लगायतका जे जस्ता भए्पनि यसलाई समयमै समिक्षा गरि न्यूनीकरणमा जोड दिनुपर्ने सुरक्षा विज्ञहरु बताउँछन् ।

जागिर अवधी नसकिँदै राजिनामा दिनेहरुको संख्या न्युनीकरणका लागि प्रहरी संगठनले आवश्यक रणनीतिहरु कार्वान्वयन गरिरहेको कडायत बताउँछन् ।

‘हामीले सेवा सुबिधा थप गर्न चाहेर हुँदैन्, कतिपय कुराहरु राज्यको स्रोत र क्षमतामा पनि निर्भर गर्दछ । यद्यपी, प्रहरीहरुलाई सेवा अबधि रहँदासम्म सेवामा नै टिकाइराख्नका लागि संगठनले आन्तरिक रुपमा संगठन र राज्य प्रति थप जिम्मेवार बनाउँदै उनीहरुको मनोबल उच्च राख्ने खालका बिभिन्न रचनात्मक खालका गतिबिधिहरु आवश्यकता अनुसार गरिरहेको छ’, प्रवक्ता कडायत भने ।

सम्बन्धित समाचार