एमालेको झुलाघाट–चिवा भञ्ज्याङ यात्रालाई कोशीमा अवरोध, पहिचान पक्षधर केही नेता पक्राउ

261 Shares

 नेकपा एमालेको झुलाघाट–चिवा भञ्ज्याङ यात्रालाई कोशी प्रदेशमा पहिचानवादीहरुले अवरोध गरेका छन्। उदयपुरको घुर्मी हुँदै ओखलढुंगा पुग्ने सडकखण्डमा पहिचानवादी समूहले अवरोध सिर्जना गरेको हो।

पहिचानवादी नेता जनक राईले उक्त सडकखण्डमा रुख ढालिएको साथै टायर बालेर सडक अवरुद्ध गरिएको बताए। कोशी प्रदेश खारेजीको माग गर्दै आएका पहिचावादी समूहको पूर्वनिर्धारित कार्यक्रमअनुसार अवरोधको काम भइरहेको नेता राईले बताए।

एमालेको अभियानअन्तर्गत मंगलबार दिउँसो हर्कपुरमा सभा र त्यसपछि टोली खोटाङको दिक्तेल पुग्नेछ। हाल जयरामघाटमा पहिचानवादी समूहको अवरोध हटाउन सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ।

यसै क्रममा एमालेको अभियानलाई कोशी प्रदेशमा प्रवेश नगर्न चेतावनी दिँदै आएका पहिचावादी पक्षका नेताहरु पक्राउ परेका छन्।

राईले भने, ‘हलेसीमा गोपाल किराँतीसँगै, जसपाका नेता राजेश राई, गन्धमान राई, विजय राई, खोटाङ नुनथलाबाट उदिम राईलाई प्रहरीले पक्राउ गरेको छ। त्यसैगरि, भोजपुरबाट समेत जसपा केन्द्रीय सदस्य मीना राई, युवा नेता दिनेश राई, विदुर राईलगायत पक्राउ परेका छन्।’

प्रहरीले अभियान टोली र पहिचानवादी पक्षबीच झडप हुन सक्ने आशंकामा करिब ४ हजारभन्दा बढीको संख्यामा सुरक्षाकर्मीलाई सो क्षेत्रमा खटाएको छ।

सम्बन्धित समाचार