
स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। जुड बेलिंघमले आफ्नो उत्कृष्ट गोल यात्रा जारी राख्दा रियलले भिल्लारियललाई ४-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लियो।
इंग्लिस मिडफिल्डर बेलिंघमले लुका मोड्रिकको सानदार क्रसमा आकर्षक हेड गर्दै लिगमा १३ औं गोल गरे। उनको हेडसँगै रियलले २५ औं मिनेटमा अग्रता बनायो। जारी सिजन लालिगामा टप स्कोरर रहेका बेलिंघम लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
रोड्रीले रियलका लागि दोस्रो गोल गरे। अफ साइड घोषित गरिएपनि भिएआरले उक्त निर्णय उल्टाउँदा ३७ औं मिनेटमा अग्रता दोब्बर बनायो।
दोस्रो हाफमा भिल्लारियल खेलमा फर्किने प्रयास गरेको थियो। जोस लुइस मोरालेसले ५४ औं मिनेटमा गोल गर्दै खेललाई १-२ को अवस्थामा ल्याए। तर त्यसपछि रियलले दुई गोल थप्यो। ब्रहिम डायजले ६४ र ४ मिनेटपछि नै मोड्रिकले अर्को गोल गर्दा रियल ४-१ले विजयी भयो।
जितसँगै रियल १७ खेलबाट ४२ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल कम खेलेको जिरोना ४१ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोना ३५ अंकका साथ तेस्रो र एट्लेटिको म्याड्रिड ३४ अंकका साथ चौंथो स्थानमा रहेको छ।