देशी/विदेशी प्रतिक्रियावादी शक्तिले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेका छन्ः नेपाल

241 Shares

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताएका छन्।

बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रतिगामी शक्तिले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औँल्याए।

उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध सबै दल एकताबद्ध भएर अघि बढ्न सहमत रहेको दाबीसमेत गरे।

समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँभित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिबारे छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आबद्ध सबै दल एक भएर अघि बढ्न सहमत रहेको अध्यक्ष नेपालले बताए।

उनले संविधान जोगाउनका लागि आफूहरूले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिरसमेत गरे।

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्नेबारे पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको बताए।

सम्बन्धित समाचार