मध्यपश्चिम विश्वविद्यालयमा आंशिक शिक्षकद्वारा तालाबन्दी

303 Shares

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरुले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन् ।

आंशिक शिक्षकहरुलाई अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार बिहान शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।

केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको आन्दोलनरत आंशिक शिक्षक श्याम थापाले जानकारी दिए । ‘हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेर पढाउन थालेको १० वर्ष बित्यो । सेवा आयोगले पनि परीक्षा पनि लिएको छैन्,’ थापाले अनलाइनखबरसँग भने, ‘त्यसैले हामी आन्दोलिन हुँन बाध्य भयौं । हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन थाल्छौं ।’

उनका अनुसार मप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक शिक्षक रहेका छन् । उनीहरुलाई अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्दर गरेर आन्दोलनमा उत्रिएको थापाले बताए ।

शिक्षकहरुले आफनो समस्यालाई सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला पक्षहरुलाई अनुरोध समेत गरेका छन् ।

उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयबाट बाहिरिदै गर्दा फागनु १५ गते आफ्नै निवासभित्र कोरम पुग्ने गरी कार्यकारीको अन्तिम बैठक बसालेर व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु समेत गरेको आंशिक शिक्षकहरुको आरोप छ ।

सम्बन्धित समाचार