काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।
कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ ।
वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको थियो । यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।
अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले त्यस्ता औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले बताइन्।