काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरू मध्येको एक भूमिकामा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन्।
चलचित्रमा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन्।
शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन् । यद्यपि चलचित्रमा उनको प्रमुख भूमिका रहेको सेनले बताए। आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन्।
समीर अभिनेता बिराज भट्टका छोरा हुन्। उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भएको थियो।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्।
यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन फिल्मस् प्रा।ली। तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।