श्रीमतिलाई घरभित्रै बलात्कार गरेको आरोप लागेका गायकलाई थप ५ दिन हिरासतमै राखिने

195 Shares

धनगढी : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडलाई थप ५ दिन थुनामै राख्न अनुमति लिइएको छ।

इलाका प्रहरी कार्यालय झलारीले वैवाहिक जबर्जस्ति करणी मुद्दामा पक्राउ परेका ओडमाथि दोस्रोपटक थप ५ दिनका लागि म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको हो।

झलारी प्रहरी स्रोतका अनुसार हिजो (मंगलबार) जिल्ला अदालत कञ्चनपुरबाट ओडमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओड गत महिना इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका थिए।

उनीमाथि घरभित्रै आफ्नै पत्नीमाथि बलात्कार गरेको आरोप छ। उनकी पत्नीले जबर्जस्ति करणीको कसुरमा गत वर्षको २० चैतमा उजुरी दिएकी थिइन्।

त्यसपछि गत महिनाको अन्तिमतिर प्रहरीकोमा पुगेका ओडविरुद्ध पहिलोपटक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको थियो। ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका छन्।

सम्बन्धित समाचार