काठमाडौं: समाचार सम्प्रेषणको विषयलाई लिएर नेपाल प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीले पत्रकारलाई धम्की दिएकी छन्। ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीकी इन्चार्ज इन्सपेक्टर शाहीले पत्रकार टेकसिंह धामीलाई धम्की दिएकी हुन्।

शाहीले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगरपोष्टडटकमका सम्पादकसमेत रहेका धामीलाई धम्की दिएकी हुन्। उनले धामीलाई त जेरो होस्, आफ्नो ख्याल गर्नू। मबाट सचेत रहनू भन्ने धम्कीपूर्ण म्यासेज पठाएकी छन्।

महेन्द्रनगरपोष्टले शाहीले कञ्चनपुरमा थुनुवालाई यातना दिएको प्रकरणदेखि उनले भोगेका कारबाही र कार्यक्षेत्रमा कमजोर कमाण्डका कारण घटनाहरु बढेका लगायतका विषयमा निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो। सोही विषयलाई लिएर शाहीले सम्पादक धामीलाई धम्की दिएको बुझिएको छ। धम्कीपछि सम्पादक धामी र अक्सफोर्ड मिडिया प्रालिले प्रहरीको माथिल्लो तहलाई सो विषयमा जानकारीसमेत गराएको छ।

यस्तै पत्रकारलाई समाचारको सवालमा प्रहरी अधिकृतबाटै धम्की आउनु दु:खद भएको अक्सफोर्ड मिडिया प्रालिको बुझाई छ।

अस्ति शुक्रवारका दिनमात्रै इन्सपेक्टर शाहीको एरियामा गुण्डागर्दी बढेको र सो क्षेत्रका स्थानीय व्यापारी ४२ वर्षीय मनोज कुमार बानियाँमाथि दिनदहाडै खुकुरी प्रहार भएको विषयलाई महेन्द्रनगरपोष्टमार्फत समाचार प्रकाशित भएको थियो। सोही समाचारपछि इन्सपेक्टर शाहीले धम्की दिएकी थिइन्।

शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।

त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको छ।

सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको हो।