‘राजीनामा नदिएर प्रचण्डले पद जोगाउन संविधानमा प्वाल खोज्दै छन्’

264 Shares

 

काठमाडौं : नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

उनले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको बताए। उनले प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि बताए।

उनले बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह गरे।

उनले भने, ‘सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको, पढ्दै आएको आज पनि उद्धरण हुँदै गरेको कुरा रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ। तर बाँसुरी बजाइरहेको छ। सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ। बरु उडायो सबै सपनाहरु हुरीले भन्ने गित गाए हुने नि। आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाल खोज्दै हुनुहुन्छ।'

उनले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनै पनि योजनाहरु कामयावी हुन नसकेको बताए।

सम्बन्धित समाचार