काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन्।
उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको बताए। उनले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भनि प्रश्न समेत गरे।
उनले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिएका थिए।
उनले भने- ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल ? सरकार के कारणले ढल्यो ? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो ? स्पष्ट छ । केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन। अब त संसदीय समितिमा पनि तपाईँहरूको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईँहरूलाई कुनै आपत पनि पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशमा कोही न कोही त जेल जानैपर्छ। सुरुवात म बाट गर्नुस् म तयार छु । तर सत्यबाट विमुख हुनेवाला छैन। कोही न कोही त जेल जानैपर्छ। सुरुवात मबाटै गर्नुस्।