रौतहट– गढीमाई नगरपालिकाको समनपुरघाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ । नगरपालिकाका मेयर श्याम प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवकै सेटिङमा बागमती दोहन भएको स्थानीयले आरोप लगाएका छन् ।
समनपुरको बागमती नदीको पुल उत्तरमा हरैयाघाटको ठेक्का पृथ्वी निमार्ण कम्पनीले लिएको छ भने सोही पुल दक्षिण उमा जयसवाल र दिनेश साहले ठेक्का लिएका छन् ।
ती दुवै घाटमा अहिले दिनरात एक्स्काभेटर र टिपर चलिरहेको स्थानीयले जानकारी दिए । स्थानीयवासीका अनुसार पुल उत्तर ४ वटा एक्स्काभेटर चलेका छन् भने पुल दक्षिण पनि ४ वटा एक्स्काभेटरले भकाभक नदी उत्खनन गरिरहेका छन् ।
नगरपालिकाले उक्त्त घाट क्षेत्रमा उत्तर १ करोड ५ लाखमा र पुल दक्षिणमा १ करोडमा ठेक्का लगाएको थियाे ।
नदीजन्य पदार्थ निकासी गर्ने जेठ मसान्त सम्म मात्र रहेको नेपाल सरकारको प्रावधान छ ।
नदीजन्य वस्तुको अवैध उत्खननबाट नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरलाई धेरै लाभ हुने भएका कारण समय सीमा सकिनु अगाडि नै नियम विपरीत बागमती खोला धमाधम उत्खनन भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुखकै मिलोमतोमा मनोमानी रूपमा बागमती धुन हुँदा वर्षयाममा बागमती गाउँ पस्ने खतरा बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले पटक पटक नगरपालिकाको कार्यालय घेराउ गर्दै आएका छन् ।
नगरपालिकाका जनप्रतिनिधिले आफ्नो लाभका लागि मनोमानी रूपमा बागमती उत्खनन गराउँदा आउँदो वर्षमायामा बागमतीको बाढी गाउँमा बस्ने खतरा बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।