
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गर्ने तयारी थालेको छ ।
गृहमन्त्रालयका उच्च स्रोतका अनुसार हप्तादिन भित्रै एआइजीहरुको सरुवा गर्ने गरी तयारी थालिएको हो ।
नयाँ सरकारले सरुवा गर्ने तयारी गरेसँगै रोजेका ठाउँमा जानका लागि एआइजीहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । हुन त प्रहरीका सिनियर अफिसरहरुको सरुवा बढुवामा शक्तिकेन्द्रको हस्तक्षेप मात्रै नभएर आर्थिक चलखेल समेत हुने गरेको प्रहरीकै उच्च पदस्थ अधिकृतहरु बताउँछन् ।
त्यसो त हरेक सरकारका नेतृत्व (प्रधानमन्त्री) र गृहमन्त्रीले प्रहरीमा सरुवा\बढुवामा राजनीतिक हस्तक्षेप हुँदैन भन्ने गर्छन् । तर, सरकार फेरवदल सँगै प्रहरी अफिसरहरुको सरुवा बढुवामा अस्वभाविक राजनीतिक हस्तक्षेप हुनेगर्छ । विगतमा कतिपय प्रहरी अफिसरहरुले भागवन्डा र आर्थिक चलखेलका कारण सरुवा बढुवा भएको भन्दै राजीनामा दिएको पनि थुप्रै उदारहणहरु छन् ।
त्यसरी राजिनामा दिने अफिसरहरुले अस्वभाविक हस्तक्षेपकै कारण प्रहरीको ‘चेन अफ कमाण्ड’ ध्वस्त बन्दै गएको बताउँछन् । प्रहरी संगठनभित्र काम गर्नका लागि उत्कृष्ट मानिने विभिन्न विभाग, व्यूरो, प्रदेश तथा जिल्लाहरुमा सरुवा भएर जानका लागि राम्रो काम गरेर भन्दा शक्तिकेन्द्र रिझाउँद उत्तम हुन्छ भन्ने खालका गलत भाष्यसमेत निर्माण हुने गरेको कुरालाई नकार्न सकिन्न ।
उच्च पदस्थ प्रहरी अफिसरको सरुवामा त झनै सत्तारुढ प्रमुख घटक दलहरु बीच भागवन्डा नै हुनेगर्छ । यो पटक पनि एआइजी सरुवामा भागवन्डा हुने पक्कापक्की छ ।
अहिले देशका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार छ । सरकारमा अन्य साना दल पनि सहभागी भएता पनि एआइजी सरुवामा भने कांग्रेस-एमालेको मात्रै हस्तक्षेप रहनेछ । किनकी, एमालेबाट प्रधानमन्त्री ओली छन् भने कांग्रेसबाट गृहमन्त्री रमेश लेखक छन् ।
‘अहिले कस्लाई कहाँ सरुवा गर्ने भनेर आन्तरिक लिष्टिङ तयार हुँदैछ । सम्भवतः एक/दुई दिनभित्रै एआईजीको सरुवासम्बन्धी प्रस्ताव फाइल गृह मन्त्रालयबाट मन्त्रिपरिषद्मा जान्छ’, गृहमन्त्रालयका एक अधिकृत भन्छन् ।
स्रोतका अनुसार काठमाण्डौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिपक थापालाई सरुवा गरेर प्रशासन विभाग लगिँदैछ । नेपाल प्रहरीमा आफुलाई व्यवसायिक र अव्बल अफिसरको परिचय बनाएका एआईजी थापा भावी आइजीका दावेदार पनि हुन् । डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी बृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालिसकेका थापा उपत्यका प्रहरी प्रमुख भएसँगै थुप्रै महत्वपूर्ण काम गरेको बताइन्छ ।
यस्तै, प्रशासन विभागको नेतृत्व सम्हालिरहेका टेकप्रसाद राईको भने काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय सरुवा हुने सम्भावना बढि छ । यद्यपी, उपत्यका प्रहरी कार्यालयमा जानका लागि भने अन्य एआइजीहरु पनि दौडधुप गरिरहेको स्रोत बताउँछ ।
अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङको भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा हुने सम्भावना स्रोत बताउँछ । हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व सम्हालिरहेका सुदिप गिरी भने केन्द्रिय अनुसन्धान व्यूरोमा जाने सम्भावना छ । केन्द्रिय अनुसन्धान व्यूरोमा रहेका श्यामलाल ज्ञवालीको भने राष्ट्रिय सुरक्षा परिषदमा सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।
यद्यपी अहिलेसम्म फाइनल लिष्ट भने तयार भइसकेको छैन । यि वाहेक अन्य एआईजीहरुको पनि जिम्मेवारी हेरफेर हुनसक्ने सम्भावना छ ।