
राष्ट्रिय स्वतन्त्र पाटीृका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भनाईपछि सामाजिक सञ्जालमा सत्ता गठबन्धन बारे टिप्पणी गरेका छन्।
आइतबार साँझ उनले सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीको कुरा सुनेपछि पुरै ढुक्क भएको र यो गठबन्धन निक्कै बलियो हुने बताएका छन्।
सत्ता घटक दुई ठूला दलबिच भएको सत्ता सहकार्यको बुँदालाई पनि उनले उठाएका छन्। बुँदा नम्बर ४ अनुसार २०८३ साल साउनमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन्।
जुन कुरा उल्लेख गर्दै लामिछानेले शेरबहादुर देउवालाई शुभकामना पनि दिएका छन्।
रविले लेखेका छन्– ‘सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीज्युको कुरा सुने पछि पुरै ढुक्क भैयो, यो गठबन्धन निकै बलियो हुनेछ।त्यसैले सम्झौताको बुँदा ४ अनुसार २०८३ साल साउनमा प्रधानमन्त्री बन्न लाग्नु भएका कांग्रेस सभापति मा।शेर बहादुर देउवालाई हार्दिक बधाइ दिदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु। ‘
यस्तो थियो विश्वप्रकाशको अभिव्यक्ति
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कम भएर प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् ।
महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए । एक्काईसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
‘सरकारमा गएर कुरा बढी भयो वा काम बढी भयो रु एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्छ । म सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको यो सरकारलाई सफलताको शुभकामना दिन चाहन्छु,’उनले भने,‘दुईटा दलले मिलेर बडा जिम्मेवार भएर आपसका विमतिहरुलाई आफ्नै ढंगको छलफल र विमर्शबाट स्वीकारेर, यसलाई सुरक्षित गरेर हामीले अगाडि जाँदैगर्दा हामीले सम्बोधन गर्न सक्नुछ–आम नेपाली नागरिकमा जे जति प्रश्न उब्जिएका छन् । ती प्रश्नहरुलाई हल गर्ने सामथ्र्य राख्नुछ ।’
महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे ।
वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताए ।
‘लामो संघर्षबाट आएका दलहरुले त्यो सामथ्र्यलाई पूरा गरेर देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्न सक्नेछन् । नेपालमा रहेका सबै नेपालीसहित संसारमा पल्लो कुरामा रहेका प्रत्येक नेपालीलाई पनि नेपाल निर्माणको एउटा नविन सम्भावनातर्फ अघि बढदैछ भन्ने नविन आशा भर्न सक्नेछन्,’उनले भने,‘त्यो दिशामा काम गर्नका लागि वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नेछ भनेर म कामना गर्न चाहन्छु । त्यही शुभकामना सरकारलाई राख्दै राम्रो काममा सरकारलाई निरन्तर साथ रहने, कमजोरी हुँदैगर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरुको बारेमा पनि सार्वजनिक रुपमा पनि, संसदमा पनि खरो ढंगले उभिने अभिव्यक्ति राख्न चाहन्छु ।’
महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफै भित्र कमी भएपनि खोजी गर्नसक्ने सामथ्र्य राख्नुपर्ने बताए ।