ट्रम्पले बाइडेनलाई किन भने ‘मलाई हरायौँ भने १० लाख डलर दिन्छु’ ?

203 Shares

वाशिङटन डीसी । अमेरिकामा यतिबेला राष्ट्रपति निर्वाचनको रौनक छ । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । तर डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनले आफ्नो उम्मेदवारी त्यागिसकेका छन् ।

राष्ट्रपतिको पहिलो खुला बहसमा ट्रम्पसँगको निराशाजनक बहसपछि दोस्रो पटक ह्वाइट हाउसमा बस्ने बाइडेनको सपना चकनाचुर भएको छ । आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई अगाडि लगाएर उनले उम्मेदवारी फिर्ता लिएका छन् । बाइडेन र ट्रम्प यस अघिको निर्वाचनमा पनि एक अर्काको सामुन्ने थिए ।

यसबाहेक बाइडेनलाई ट्रम्पले अर्को चुनौती पनि दिएका थिए । ट्रम्पले बाइडेनलाई गल्फ खेल्न र आफूलाई हराएमा १० लाख डलर दिन्छु भनेर भनेका थिए । ट्रम्पले हालै यो सम्पूर्ण घटनाको खुलासा गरेका छन् । मिनीसोटाको सेन्ट क्लाउडमा एउटा र्‍यालीमा आफूले बाइडेनलाई गल्फ खेल्न चुनौती दिएको ट्रम्पले बताएका थिए ।

आफू जुनसुकै कोर्स (गल्फ कोर्स) मा खेल्न तयार रहेको र बाइडेनले आफूलाई पराजित गरे भने १० लाख डलर दिन तयार रहेको पनि उनले बताए । बाइडेनले पछि गल्फ खेल्ने प्रस्ताव अस्वीकार गरेका थिए । बाइडेनसँग आफूलाई हराउन कयौँ मौका थियो भन्दै ट्रम्पले उनलाई खिस्याएका छन् ।

रिपोर्टहरूका अनुसार गल्फ खेल्ने विषयमा ट्रम्प र बाइडेनबिच जुनमा छलफल सुरु भएको थियो । यो भनेको ट्रम्प र बाइडेनबिच पहिलो राष्ट्रपति बहस प्रस्तावित भएको समय हो । आफूले हालै गल्फमा दुई क्लब च्याम्पियनसिप जितेको र दुई नियमित क्लब क्राउन हात पारेको दाबी पनि ट्रम्पले गरेका छन् ।

आफू अझै पनि लामो दुरीको सट प्रहार गर्न सक्षम रहेको र खेलका लागि चाहिने स्मार्टनेस पनि भएको उनले बताएका छन् । तर बाइडेनले भने बल ५० यार्ड्ससम्म पनि फ्याँक्न नसक्ने भन्दै उनले खिसी गरेका छन् । तर बाइडेनले चाँहि ट्रम्पले आफ्नो गल्फ ब्याग आफैँ उठाएर गल्फ कोर्ससम्म आए भने आफू गल्फ खेल्न खुसी हुने बताएका थिए ।

सम्बन्धित समाचार