योगेन्द्र ठाकुर हत्या घटनाः मिटरब्याज पीडित संघर्ष समिति र प्रशासनबीच ८ बुँदे सहमति

102 Shares

जनकपुरधाम – धनुषाधाम नगरपालिका–२ का योगेन्द्र ठाकुरको कुटपिटबाट हत्या भएको विरोधमा आन्दोलन गरिरहेको मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ।

हत्या आरोपी मिटरब्याजी शिवजी यादवलगायतलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने, कुटपिटबाट घाइते योगेन्द्रकी श्रीमती श्यामु ठाकुरको निःशुल्क उपचार गर्ने र उनलाई रोजगारीको व्यवस्था मिलाउने सहमति भएको छ।

यस्तै, मृतक योगेन्द्रलाई मिटरब्याज संघर्ष समितिको मागअनुसार शहिद घोषणा गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, क्रियाखर्च, क्षतिपूर्ति र निजका नाबालक दुई छोरीहरुको पालनपोषण एवं विश्वविद्यालयसम्मको शिक्षाको लागि निःशुल्क व्यवस्था गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको मिटरब्याजसम्बन्धी मुद्दामा कानुनबमोजिम छिटोछरितो समाधान गरिदिन गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकको परिवारलाई भरपर्दो शान्ति सुरक्षा र निजको जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था जिल्ला प्रहरी कार्यालयले मिलाउने सहमति भएको हो।

सहमति भएपछि संघर्ष समितिले आन्दोलनको कार्यक्रम स्थागित गरेको छ। योगेन्द्रको आजै अन्त्येष्टि गरिनेछ।

सम्बन्धित समाचार