भिआईपी जोगाउन अनुसन्धानमा चलखेल गर्ने एआईजी बज्राचार्यलाई कारवाही गर्न छाडेर महत्वपूर्ण जिम्मेवारी उपहार !

609 Shares

 

काठमाण्डौँ । ६० किलो सुन काण्डको अनुसन्धानमा चलखेल गरेको भन्दै कारवाहीका लागि सिफारिसमा परेकी एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालयको नेतृत्व दिईएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को निणर्यबाट बज्राचार्यलाई उक्त जिम्मेवारी दिईएको हो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई  विभागीय कारबाहीको सिफारिस गरेको थियो । आयोगको सिफरिस पछि २ चैतमा एआईजी बज्राचार्यसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का चार जना अफिसरलाई कारवाहीका लागि भन्दै हेडक्वाटर तानिएको थियो । त्यसरी कारबाहीको सिफारिसमा पर्नेहरुमा एआईजी किरण बज्रचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल हुन् ।

आयोगले को नेतृत्वमा हुँदा बज्राचार्यले जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको, बयान लिएका व्यक्तिलाई समेत भगाएको, अभियुक्तसँग निरन्तर सम्पर्कमा रहेको आरोप लगाएको थियो । 

उनीहरुमाथि कारबाही लागि भन्दै गृहको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा डीआईजी भीमप्रसाद ढकाल र गृह प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहेको समिति बनाएको थियो । 

तर, अहिलेसम्म उनीहरु माथि के कस्तो कारवाही गर्ने भन्ने टुंगो लागेको छैन । कारवाहीका लागि हेडक्वाटर तानिएकी बर्जाचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभागको जिम्मेवारी दिईएको थियो । 
कारवाही गर्नुपर्ने बज्राचार्यलाई महत्वपूर्ण जिम्मेवारी उपहार ! 

कारवाही सिफारिस भएकी एआईजी बज्राचार्यले नेतृत्व पाएको उपत्यका प्रहरी कार्यालयमा नेतृत्व लिनका लागि प्रहरी अफिसरहरुको तछाडमछाड हुने ठाउँ हो । 

प्रहरी संगठनमा पछिल्लो समय बढ्दै गएको राजनीतिक हस्तक्षेपका बीच यस कार्यालयको नेतृत्व पाउनका लागि एआईजीहरुलाई ‘फलामको चिउरा चपाए’ जस्तै हुन्छ । यहाँ जानका लागि करोडौँको चलखेल पनि हुने सिनियर प्रहरी अफिसरहरु बताउँछन् । अर्काे कुरा करोडौँको चलखेल गरेर मात्रै यहाँ जान पाइँदैन्, यहाँको नेतृत्व पाउनका लागि आईजीपी देखि गृहमन्त्री, प्रधानमन्त्री र सत्ताधारी दलका शिर्ष नेता खुसी पार्नुपर्ने बाध्यात्मक अबस्था रहने जानकारहरु बताउँछन् । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका एक सदस्य भन्छन्, ‘६० किलो सुन काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँगै अन्य नेता र उनका छोराहरुलाई जोगाउन बज्राचार्यले ठूलै चलखेल गरेकी   थिईन् । यो आरोप मात्रै हैन्, आयोगले पनि प्रमाणित गरेको छ । प्रमाणित गरेर उनलाई कारवाहीका लागि सिफारिस गरिएको छ । तर, उनलाई कारवाही हैन् । जस्लाई जोगाईन् उनीहरु नै शक्तिशाली बने, उनीहरुको ईसारामा चल्नेहरु सम्बन्धित मन्त्रालयमा आए अनि आफुलाई जोगाउनेलाई जोगिनेहरुले उपहार स्वरुप महत्वपूर्ण जिम्मेवारी दिए ।’ 

जिम्मेवारीको अख्तियारी दुरुपयोग गरी अपराधी जोगाउन काम गरेको भन्दै कारवाहीका लागि सिफारिस भएकी बजा्रचार्यलाई महत्वपूर्ण र संवेदनशील मानिएको ठाउँको सुरक्षा कमान्ड सुम्पिए सँगै प्रहरीका उच्च अधिकृतहरू पनि असन्तुष्ट बनेका छन् ।

सम्बन्धित समाचार