परिवारसहित लन्डन सेटल भएका हुन् विराट कोहली ? एक्लै लखरलखर हिँडिरहेको भेटिए

128 Shares

 भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली परिवारसहित बेलायतमा सेटल भएको अनुमान गर्न थालिएको छ । यस्तो अनुमानका थुप्रै आधार छन् ।

 

हालैमात्र विराटको एउटा सानो भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडिओमा कोहली एक्लै सडक क्रस गर्न लागेको देखिन्छन् । उनलाई त्यहाँ कसैले चिन्दैन ।

भारतले टी-२० विश्वकप क्रिकेट खेलेपश्चात कोहली श्रीमती र बच्चाहरु लिएर लन्डन गएका थिए । उनी त्यहाँबाट एक दिवसीय क्रिकेट खेल्न श्रीलंका आए । सिरिज भारतले हार्‍यो । त्यसलगत्तै विराट फेरि लन्डन पुगेका छन् ।

सार्वजनिक भएको भिडिओ केही दिनयताको ताजा भएको दाबी गरिएको छ । त्यसो त यसअघि पनि पटक-पटक कोहली लन्डनको सडकमा एक्लै बरालिँदै गरेको भेटिन्थे ।

 

पछिल्ला वर्षमा विराटको लन्डन आउजाउ निकै बाक्लिएको छ । विराटले भारत छोडेर लन्डनमै स्थायी बसोबास गर्ने योजना बुनेको चर्चा भारतीय मिडियामा केही समयदेखि भइरहेको थियो । अब भने उनी लन्डनमै स्थायी बसोबास गर्न थालेको चर्चा सुरु भएको छ ।

कोहली र उनकी पत्नी अनुष्का स्वतन्त्रताको खोजीमा लन्डन सिफ्ट भएको दाबी गरिएको छ । भारतमा दुवैलाई पब्लिकले चिन्ने भएकाले स्वतन्त्रतापूर्वक सडकमा हिँड्नसक्ने अवस्था हुँदैन । जहाँ गए पनि फ्यानहरुले घेर्छन् । त्यसैले कोहलीले लन्डन बसाइ रोजेका हुन् । त्यहाँ उनीहरु सर्वसाधारणको रुपमा निस्फिक्री जता पनि हिँड्न सक्छन् । खासै कसैले चिन्दैनन् । चिनिहाले पनि वास्ता गर्दैनन् ।

एक पटक लन्डन बसाइको अनुभव सुनाउँदै कोहलीले भनेका थिए, ‘हामी दुई महिना लन्डन बस्दा अद्भूत अनुभव भयो । परिवारसँग स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने र समय बिताउने अवसरका लागि म भगवानप्रति आभारी छु । सडकमा एउटा आमव्यक्तिका रुपमा हिँड्दा र कसैले नचिन्दाको अनुभव साँच्चै गजबको थियो ।’

सम्बन्धित समाचार