शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षा प्रवन्धको माग गरेकी हुन् ।
शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’
केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको बताइएको छ । असुरक्षाका कारण देखाउँदै उपकुलपति, रेक्टर र रजिस्ट्रार अनुपस्थित छन् । रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल शुक्रबारदेखि नै कार्यालय आएका छैनन् भने उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएकाले गत सातादेखि नै बिदामा छन् ।
शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइ दिन समेत आग्रह गरेको थियो । ‘विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारण पदाधिकारी तथा केन्द्रीय कार्यालय परिसर कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महसुस बढ्न गएको छ,’ रजिस्ट्रार रिजालले शुक्रबार लेखेको पत्रमा उल्लेख छ, ‘गृह मन्त्रालयमार्फत उपकुलपति, शिक्षाध्यक्ष (रेक्टर), रजिस्ट्रारको निजी आवास र केन्द्रीय कार्यालय परिसरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि अनुरोध छ ।’