केलियन एम्बाप्पेले ला-लिगामा पहिलो दुई गोल गरेको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ। रियलले यो चौंथो खेलमा दोस्रो जित हो। एम्बाप्पेले चौंथो खेलमा ला-लिगामा ‘डेब्यु’ गोल गर्न सफल भए।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो। ६७ औं मिनेटमा फेडेरिको भाल्भर्डेसको पासमा पहिलो गोल गरेका एम्बाप्पेले पेनाल्टी मार्फत ७५ औं मिनेटमा दोस्रो गोल गरेका थिए।
यसअघि केलियन एम्बाप्पेले ला-लिगामा उत्कृष्ट प्रदर्शनका बाबजुत गोल गर्न सकेका थिएनन्। यसअघि उनले कुल २४ सट प्रहार गरेपनि सफल भएका थिएनन्। तर उनले रियलका लागि डेब्यु गोल भने आफ्नो पहिलो खलमै युइएफए सुपर कपको फाइनलमा एट्लान्टा विरुद्ध गरेका थिए।
२५ वर्षीय फ्रेन्च स्टारले यसै सिजन फ्रि-ट्रान्सफरमा पिएसजीबाट रियल अनुबन्धित भएका हुन्। पिएसजीमा उनी २ सय ५६ गोलका साथ सर्वाधिक गोलकर्ताका रूपमा रहन सफल भएका थिए। ला-लिगाको सिजनमा भने उनले २५ सटपछि गोल गर्न सफल भए।
त्यसो त खेलको सुरुवातमा रियल बेटिसले पनि गोलका राम्रा अवसर चुकायो। यता रियलका भिनसियस जुनियरको प्रहार बारमा लाग्न पुगेको थियो। ला-लिगामा रियल सुरुवाती ४ खेलमा अपराजित रहेको छ। यद्यपि शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछि छ। रियल बेटिसको भने एक मात्र अंक रहेको छ।