एन्फा महिला लिग : एउटै खेलमा सर्वाधिक गोलको कीर्तिमान बनायो एपिएफले

217 Shares

 एन्फा महिला लिग फुटबलमा गोलको नयाँ कीर्तिमान बनेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा शीर्ष स्थानमा रहेको एपिएफले सुदूरपश्चिम प्रदेशविरुद्ध १९ गोल गर्दै सर्वाधिक गोलको कीर्तिमान बनाएको हो। 

आज एपिएफसँग १९–० को पराजयसमेत गरेर सुदूरपश्चिमको यो लगातार आठौँ पराजय हो। 

एपिएफको जितमा रश्मीकुमारी घिसिङ र अनिताकुमारी केसीले सर्वाधिक ४/४ गोल गरे। प्रीति राईले ३ गोल गरिन्।

कुसुम खतिवडा र सविता रानाले २/२ गोल गरे भने रेनुका हमाल र सरु लिम्बुले १/१ गोल गरे। एपिएफले दुई आत्मघाती गोल उपहारस्वरुप पाएको थियो। 

सातौँ जितसँगै २२ अंक जोडेको एपिएफ अंक तालिकाकी शीर्षमा कायमै छ। 

यसअघि आजै चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीच भएको पहिलो खेल भने बराबरीमा टुङ्गिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशी प्रदेशविरुद्ध चन्द्रपुरले शुरूआती अग्रता जोगाउन नसक्दा खेल १–१ गोलको बराबरीमा रोकिएको हो।

खेलको ५१औँ मिनेटमा चन्द्रपुरकी सुनिता सुनारले गोल गर्दै शुरूआती अग्रता दिलाएकी थिइन् तर ८०औँ मिनेटमा कोशीकी ममता राउतले गोल गर्दै खेल बराबरीमा ल्याइन्।

सम्बन्धित समाचार