भत्ता लिन वृद्धवृद्धालाई राज्यले दिएको सास्तीः गाडी रिजर्भ गरेर बैंक पुग्नुपर्छ, घण्टौँ लाइनमा उभिनुपर्छ

134 Shares

वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुगेकी चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ताबापतको रकम प्राप्त गरिन् । भत्ता रकम लिन ४ घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ ।

घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा उनी जति खुसी भइन्, त्यत्ति नै थकित पनि देखिन्थिन् । सञ्चरीमाया मात्र होइन इच्छाकामना–३, धुषाकी छोटीमाया चेपाङले पनि ४ घण्टा कुरेर भत्ता लिइन् ।

कुरिनटारमै रहेको अर्को प्रभु बैंकमा पनि आइतबार उस्तै भीड थियो । वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहेका थिए । बिहानैदेखि आएर कागजपत्र बुझाएका इच्छाकामना- २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउँसो  भत्ता रकम लिन पाएनन् । बैंकमा सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो ।

माछापुच्छ्रे बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आएका इच्छाकामना– १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताए । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने उनको माग छ ।

इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर  भत्ता लिन आएको उनले बताए । आवतजावत गर्न जनही सात सय गाडी भाडामा मात्र खर्च हुने उनको भनाइ छ । 'झण्डै ३ घण्टाको बाटो गाडी रिजर्भ गरेर यहाँ भत्ता रकम लिन वृद्धवृद्धा आउनुभएको छ, भाडामात्र सात सय लाग्छ, वडामै भत्ता वितरण गरेको भए उक्त रकम बच्ने र यहाँ आएर यसरी लाइन बस्नुपर्ने थिएन,' गिरीले भने ।

इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताए । 'मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन,' उनले भने ।

अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको रानामगरको भनाइ छ । आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप सहज बनाउन बैंकसँग छलफल गर्ने उनले बताए ।

माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक  प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गरे । वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको उनको भनाइ छ ।

'हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ, दसैँका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो,' अधिकारी भन्छन् । यो समयमा अन्य सेवाग्राहीको समेत भीड लाग्ने गरेकाले केही असहज भएको उनको भनाइ छ ।

बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताए । गाउँपालिकाले ग्लोबल आईएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ । इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती व्यहोर्दै आइरहेका छन् । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने यहाँका ज्येष्ठ नागरिकहरूको माग छ ।

रासस

सम्बन्धित समाचार