असईको ‘पेस्तोलकाण्ड’ : राजीनामा स्वीकृत, कारवाहीबाट उन्मुक्ति

896 Shares

काठमाण्डौँ :  आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई)  किसनबहादुर चन्दको राजीनामा स्वीकृत भएको छ । 

छानबिन समितिले दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेपछि चन्दले राजीनामा दिएका थिए । अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत रहँदा गत मंसिर १३ गते राति उनले आफैंमाथि पेस्तोल चलाएका थिए । 

सो प्रकरणमा तत्कालीन सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी रविन्द्र केसीले छानबिन समिति नै बनाएर अनुसन्धान सुरु गरेका थिए । डोटी प्रहरीका प्रहरी उपरीक्षक (एसपी)  बिनोद शर्माको नेतृत्वमा गठन भएको समितिले घटनाको छानविन गर्दा असईको गल्ती ठहर गर्दै उनलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरेको थियो । 

समितिले बुझाएको रिपोर्ट अनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै बर्खास्त गर्न सिफारिस गरेको थियो ।

बर्खास्तमा पर्ने संकेत पाएपछि असई चन्दले राजिनामा बुझाएका थिए । छानविन समितीले उनलाई कारवाहीको सिफारिस गरेपनि त्यसबाट उन्मुक्ति दिएर राजीनामा स्वीकृत गरिएको हो ।

स्रोतका अनुसार केही दिन अगाडिमात्रै चन्दले दिएको राजीनामा स्वीकृत भैसकेको छ ।  

घटना भएको दिन चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेका थिए । तर, हवल्दार भागेपछि असईले आफैलाई हानेका थिए । उक्त दिन उनले मदिरा सेवन पनि गरेको बताईन्छ । 

यद्यपी, असई चन्दले यस्तो हर्कत गरेको त्यो पहिलो घटना भने हैन् । त्यसअघि कैलालीमा हुँदा समेत एक जना प्रहरी निरीक्षकलाई पेस्तोल ताकेको बताईन्छ । 

 

 

सम्बन्धित समाचार